
-दुर्गा उपाध्याय/ईमेज
कञ्चनपुर । वर्षौंदेखि यातायात, स्वास्थ्य, शिक्षालगायतका समस्या भोग्दै आएका कञ्चनपुरको चुरे क्षेत्र (खल्ला–मुसेट्टी) का स्थानीय बासिन्दाको जीवनयापन कष्टकर बन्दै गएको छ ।
बाढी र पहिरोले सडक अवरुद्ध भएपछि यहाँका स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
वर्षा सुरु भएसँगै भीमदत्त नगरपालिका ९ स्थित खल्ला–मुसेट्टीका स्थानीय बासिन्दाका सास्तीका दिन फेरि सुरु भएका छन् ।
वर्षौपछि सडक सञ्जालसँग जोडिएको भए पनि वर्षाले सडक अवरुद्ध भएपछि मर्कामा परेका हुन् ।
वर्षाका कारण ठाँउ ठाँउमा पहिरो गएको छ भने कतिपय ठाँउमा बाटो नै छेक्ने गरी सालका रुखहरु ढलेका छन् ।
यस्तै, महाकाली नदीमा आएको बाढी र खहरे खोलाले सडक कटान गर्दा यस क्षेत्रका बासिन्दालाई आवत्–जावत् र उपभोग्य सामाग्री ढुवानीमा निकै समस्या भएको छ ।
उनीहरु ब्रह्मदेवबाट टाउकोमा उपभोग्य सामान बोकेर झण्डै दुई घण्टाको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
सडकमै ढलेका रुख र पहिरोले लामो समयसम्म आवागमन अवरुद्ध हुँदा पनि सरोकारवाला निकायको बेवास्ताका कारण आफूहरुले दुख पाएको स्थानीय खिमसिंह साउदको भनाइ छ ।
जिल्लाकै सबैभन्दा दुर्गम र विकट क्षेत्र मानिने यस क्षेत्रमा न दुरसंचारको पहुँच छ, न त विद्यालय र स्वास्थ्य संस्थाको नै पहुँच छ ।
जसको मार वर्षा सुरुभएसँगै सबैभन्दा बढी स्कुले केटाकेटी र बिरामीले खेपिरहेका छन् ।
यहाँका झण्डै २५ जना बालबालिका दुई घण्टाको जोखिमपूर्ण यात्रा गरेर अध्ययनका लागि ब्रह्मदेव जाने गर्दछन् ।
बाढी र पहिरोको डरले कतिपयलाई अभिभावकले नै विद्यालय पुर्याउने गर्छन् भने अधिकांश बालबालिका साथीहरुसँग समूह बनाएर विद्यालय जाने गरेको भीमदत्त ९ खल्लामुसेट्टी प्रकाश सार्कीको भनाइ छ ।
यता, बालबालिकालाई पढ्न विद्यालय पठाए पनि अभिभावकलाई भने छोराछोरी घर नफर्किएसम्म चिन्ताले सताएको हुन्छ ।
कतिपय बेलामा त बाढीकै कारण विद्यालय गएका बालबालिका घर फर्किन नसकेर विद्यालयमै बस्नुपरेको अर्का स्थानीय राजु सार्कीको गुनासो छ ।
यता, भिमदत्त नगरपालिका वडा नम्बर ९ कार्यालयले भने वडाले पहिरो हटाउन पहल गरे पनि वन कार्यालयले रुख नहटाउँदा समस्या भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्