
प्रतीक्षा खनाल (इमेज)
काठमाडौं, भदौ २४ । चीनका विदेशमन्त्री वाङ यी नेपाल भ्रमण सम्पन्न गरी मंगलबार स्वदेश फर्किएका छन् ।
भ्रमणकाक्रममा नेपाल र चीनबीच मन्त्रीस्तरीय वार्ता भइ केही सम्झौताहरु भएका छन् भने विदेशमन्त्री वाङले राष्ट्रपति, प्रधानमन्त्री र राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरेका थिए ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा चीनका विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आइतबार अपराह्न काठमाडौं आइपुगेका थिए ।
सोमबार अपराह्न आफ्ना समकक्षी नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग प्रतिनिधिमन्डलस्तरीय द्विपक्षीय भेटवार्ता गरे ।
वार्तामा पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी तीनओटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङको उपस्थितिमा भएका सम्झौतामा मनाङमा अस्पताल निर्माणका लागि चीनले ३५ करोड ६० लाख रुपैयाँ उपलब्ध गराउनेछ भने नेपालमा चिनियाँ भाषा पढाउन स्वयंसेवक शिक्षकहरु पनि पठाउनेछ ।
यस्तै, प्राकृतिक विपत्तिका लागि आवश्यक पर्ने पाँच हजारथान त्रिपाल पनि चीनले दिने सम्झौता पनि पनि दुई देशबीच भएको छ ।
वार्तामा चिनियाँ सहयोगमा निर्माणाधीन र सन्चालित आयोजना, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) र आर्थिक विकासमा चिनियाँ सहयोगलगायतका विषयमा छलफल भएको बताइएको छ ।
प्रतिनिधिमन्डलस्तरीय भेटवार्तापछि वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरे ।
सोमबार साँझ विदेशमन्त्री वाङ परराष्ट्रमन्त्री ज्ञवालीले उनको स्वागतमा आयोजना गरेको रात्रिभोजमा उपस्थित भए ।
वाङले सोमबार बिहान चन्द्रागिरिको अवलोकन गरे भने राति वाङले वसन्तपुर दरबार क्षेत्रको अवलोकनसमेत गरे ।
यस्तै, मंगलबार बिहान भक्तपुर दरबार क्षेत्रको अवलोकन गरे ।
मंगलबार नै उनले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टा–छुट्टै भेटवार्ता गरे ।
भेटवार्तामा चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणको विषय छलफल भएको जनाइएको छ ।
विदेशमन्त्री वाङको भ्रमण दुई देशबीचका महत्वपूर्ण एजेन्डाहरुमा उपलब्धिपूर्ण नदेखिएपनि चिनियाँ राष्ट्रपति सीको सम्भावित भ्रमणको वातावरण मिलाउन फलदायी हुनसक्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्