चीनका विदेशमन्त्री वाङ यी स्वदेश फर्किए • Image Khabar Image Khabar


चीनका विदेशमन्त्री वाङ यी स्वदेश फर्किए


Imagekhabar
२४ भाद्र २०७६, मंगलवार १३:५८

चीनका विदेशमन्त्री वाङ यी स्वदेश फर्किए

काठमाडौं । तीन दिने नेपाल भ्रमण पूरा गरी चीनका विदेशमन्त्री वाङ यी आज स्वदेश फर्किएका छन् ।

आइतवार काठमाडौं आउनु भएका चिनियाँ विदेशमन्त्री वाङले आज बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरे ।

भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमण तथा दुई देशको आपसी सम्बन्धलाई सुढृढ गर्ने विषयमा छलफल भएको नेकपा अध्यक्ष दाहालले बताए ।

दाहालले चिनियाँ विदेशमन्त्रीसंगको भेटमा आपसी साझेदारी तथा सहकार्य र आर्थिक विकासमा चिनियाँ सहयोगका विषयमा छलफल भएको बताए ।

चिनियाँ विदेशमन्त्री वाङसंगको भेटमा नेताहरुले नेपाल सधैं एक चीन नीतिप्रति अडिग रहेको र चीन विरोधी गतिविधिका लागि नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको बताइएको छ ।

यसअघि चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरेका थिए ।

यसैबीच परराष्ट्र मन्त्रालयले एक वक्तव्य जारी गरेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ समकक्षी वाङसँग प्रतिनिधिमण्डल स्तरको भेटवार्ता गरेको जनाएको छ ।

दुवै परराष्ट्रमन्त्रीले दुई देशबीचको सबै महत्वपूर्ण पक्षबारे पुनरावलोकन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुवै परराष्ट्रमन्त्रीले पछिल्ला वर्षमा दुई देशबीचको सम्बन्ध अझ विस्तार र गहिरो हुँदै गएकोमा सन्तोष व्यक्त गर्दैै आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ प्रवद्र्धन गर्ने विषयमा कुरा भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्