
काठमाडौं, साउन ६ । उपराष्ट्रपति महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक कार्यक्रमअनुसार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेलमा सशस्त्र प्रहरी, त्रिभुवन आर्मी, नेपाल पुलिस, काठमाडौं जिल्ला फुटबल संघ र रौतहट जिल्ला फुटबल संघ गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ ।
आगामी साफ च्याम्पियनसिप फुटबललाई केन्द्रित गरेर हुन लागेको प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
सर्वोत्कृष्ट खेलाडीले ५० हजार तथा विधाका उत्कृष्टले जनही १० हजार रुपैयाँ पाउनेछन् ।
तयारीका लागि प्रत्येक टिमले ५० हजार रुपैयाँ पाउनेछन् भने हरेक खेलको १० हजार रुपैयाँ पनि दिइने एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।
साउन १५ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा सोमबार दिउँसो १ बजे नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्