काठमाडौं, भदौ १२ । नेपाल भारतमा जारी १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
बिहीबार भारतको कल्याणी रंगशालामा भएको ‘राउन्ड रोबिन लिग’को अन्तिम खेलमा भुटानलाई ६–० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
नेपाललाई जिताउन कप्तान प्रदीप लम्सालले दुई तथा अशिम राई, सुगम जिम्मी, क्रिस सापकोटा र निराजन खत्रीले एक/एक गोल गरे ।
उपाधिका लागि नेपालले अब शनिबार भारतसित खेल्नेछ ।
भारतले सबै खेलमा जित हासिल गर्दै फाइनलमा ठाउँ बनाएको हो ।
बिहीबारै अन्तिम खेलमा भारतले साविक विजेता बंगलादेशलाई ४–० ले हरायो । भारतलाई जिताउनेक्रममा हिमांशु जान्ग्राले ‘ह्याट्रिक’ गरे ।
पहिलो खेलमा भारतसित ५–० ले पराजित भएको नेपालले त्यसपछिका खेलमा श्रीलंकालाई २–० ले तथा बंगलादेशलाई ४–१ ले हराएको थियो ।
प्रतियोगितामा नेपाल तेस्रोपटक फाइनलमा पुगेको हो । यसअघि, सन् २०१३ र २०१७ मा पनि फाइनल पुगेको नेपालले उपाधि जित्न सकेको छैन ।
भारत र बंगलादेशले समान दुईपटक उपाधि जितेका छन् ।
शनिबारको फाइनल जिते नेपालले कीर्तिमान रच्नेछ ।
प्रतिक्रिया दिनुहोस्