सिरियामा माइनस २० डिग्रीमा गस्ती गर्दै नेपाली सेना • Image Khabar Image Khabar


सिरियामा माइनस २० डिग्रीमा गस्ती गर्दै नेपाली सेना


Imagekhabar
८ माघ २०७७, बिहीबार ०६:५२

सिरियामा माइनस २० डिग्रीमा गस्ती गर्दै नेपाली सेना

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कार्यरत नेपाली शान्ति सैनिकहरूले मध्यपूर्वी सिरियाको अतिसंवेदनशील माउन्ट हर्मनको हिउँमा गस्ती गरिरहेका छन् । जहाँ २० फिट हिउँ छ भने तापक्रम माइनस २० डिग्री सेन्टिग्रेडमा झरेको छ । 

यस क्षेत्रको स्वामित्वको विषयलाई लिएर ४६ वर्षदेखि सिरिया र इजरायलबीच विवाद हुँदै आएको छ । दुई देशको विवादले द्वन्द्वको रूप लिने गरेका कारण शान्ति सैनिक तैनाथ गरिएका हुन् । शान्ति सैनिक तैनाथ रहेको यो संसारकै अग्लो स्थान भएको नेपाली सेनाले जनाएको छ । यो क्षेत्रमा अहिले पनि ठूलो संख्यामा विद्युतीय धरापहरू छन् भने द्वन्द्वरत सशस्त्र समूहहरूको चलखेल पनि यथावत् छ । 

गोलान हाइट पनि भनिने यो क्षेत्रमा करिब ६ महिना हिमपात हुने गरेको छ । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार यस क्षेत्रमा खटिने अधिकांश फौजहरू मुस्ताङको कैसाङस्थित उच्च शिखर तालिम शिक्षालयबाट हिमाली युद्धकलासम्बन्धी तालिम प्राप्त गरी हिमपात र विकट भूगोलमा काम गर्न दक्षता प्राप्त गरेका छन् । त्यहाँ नेपाली शान्ति सैनिक सन् २०१३ देखि तैनाथ छन् । ‘त्यस क्षेत्रमा हिउँमा प्रयोग गरिने विशेष किसिमको सवारीसाधनहरू पिस्टन बुली, स्किडो र स्कीको प्रयोग गरी सैनिक कारबाहीहरू सञ्चालन गरिन्छ,’ निर्देशनालयद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ । 

सिरियास्थित मिसनको फोर्स कमान्डर नेपाली सेनाका रथी ईश्वर हमाल छन् । त्यहाँ यसअघि प्रधानसेनापति पूर्णचन्द्र थापा, अवकाशप्राप्त रथी बालानन्द शर्मा र अवकाशप्राप्त उपरथी शिवराम खरेल पनि कार्यरत थिए । सिरियाको मिसनमा नेपाली शान्ति सैनिकको सबैभन्दा ठूलो उपस्थिति छ । 

मिसनमा नेपाली सेनाको चिकित्सकसहितको मेडिकल टिम कार्यरत छ । आन्तरिक द्वन्द्वका कारण विद्रोहीहरूबाट क्षति पु¥याइएका शान्ति सैनिकहरूको ब्यारेक संरचनाहरू पुनःनिर्माण र ब्यारेक स्थानहरूको सुरक्षा मजबुत बनाउन नेपाली सेनाको इन्जिनियर टिम पनि कार्यरत छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्