१८ चैत्र २०७९, शनिबार | Sun Apr 2 2023


विश्वकप फुटबलको आज भब्य उदघाटन, पहिलो खेलमा रुस र साउदी अरेबिया भिड्ने


0
Shares

काठमाडौं, जेठ ३१ । विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करण आजबाट रुसमा सुरु हुँदैछ ।

नेपाली समयअनुसार आज वेलुकी सवा ८ बजे रुसी राजधानी मस्कोस्थित लुजिन्स्की रंगशालामा भव्य उद्घाटन समारोह आयोजना हुनेछ ।

उक्त समारोहलाई रुसी राष्ट्रपचि भ्लादिमिर पुटिन, अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष जियानी ईन्फान्टीनो लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

आधा घण्टासम्म चल्ने उद्घाटन समारोहमा विश्व फुटबलका हस्तीहरू डिएगो म्यारोडाना, जिको लगायतको उपस्थिति रहनेछ ।

उद्घाटन समारोहमा बेलायती गायक रोबी विलियम्स, रुसी गायिका सोप्रानोलगायतले प्रस्तुती दिँदा ५ सयभन्दा बढी डान्सर र जिमन्यास्टहरूले आफ्नो कला देखाउनेछन् ।

रुसमा विश्वकप सुरु हुनै लाग्दा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । विश्वभर हुल्याहा समर्थकको छबी बनाएका रुसी समर्थकहरुलाई नियन्त्रण गर्नु रुसी आयोजकको मुख्य चुनौती हुनेछ ।

त्यसबाहेक पछिल्लो समय युरोपका भिडभाडयुक्त ठाँउलाई निशाना बनाउदै आएका आतंकवादी संभावित आक्रमण निस्तेज पार्नु रुसी सुरक्षा संयन्त्रको अर्को मुख्य चुनौती हुनेछ ।

उद्घाटन समारोहमा ३२ वटै टिमका खेलाडी उपस्थित हुने बताइएको छ । जहाँ ब्राजिलबाट दुईपटक विश्वकपको ट्रफी उचालेका रोनाल्डो पनि देखिनेछन् ।

उद्घाटन समारोहमा लुजिन्स्की रंगशालामा ८० हजार दर्शक उपस्थित हुने आयोजको दाबी छ । रंगाशालाको दर्शक क्षमता ८१ हजारको रहेको छ । यही रंगशालामा जुलाई १५ तारिखमा विश्वपको फाइनल खेल हुनेछ ।

रुसको च्यानल वानले उद्घाटन समारोहको व्यवस्थापन तथा उत्पादन गर्नेछ । जसका निर्देशक फेलिक्स मिखाइलो हुन् ।

उनले नै २०१८ को ‘फिफा विश्वकप जर्नी’ को कार्यक्रम निर्देशन गरेका हुन् । जुन २०१५ को प्रारम्भिक ‘ड्र’ बाट सुरु भएको रुसी विश्वकपको यात्रा १५ जुलाईमा सकिनेछ । विश्वकपका विभिन्न ६४ खेल रुसमा ११ सहरका १२ रंगशालामा हुनेछ ।

उद्घाटन खेलमा आज आयोजक रुसले साउदी अरेबियासँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार आज वेलुकी पौने ९ वजे मस्कोस्थित लजिन्स्की रंगशालामा हुनेछ । 

रुसले पछिल्ला ७ खेलमा जित निकाल्न सकेको छैन । उसले अन्तिम पटक गत अक्टोबरमा दक्षिण कोरियालाई हराएको थियो ।

यस्तै साउदी अरेबिया पनि पछिल्ला ३ खेलमा लगातार पराजित भएको थियो । साउदीलाई पछिल्ला ३ मैत्रीपूर्ण खेलमा इटाली, पेरु र विश्वकपको साविक विजेता जर्मनीले पराजित गरेका थिए ।

रुसले एसियासी भूमिमा भएको २००२ को विश्वकप पछि खेलेका विश्वकपका सवै खेल गुमाएको छ ।

साउदीले सन् १९९४ मा अमेरिकालाई हराए यता विश्वकपमा जित हात पार्न सकेको छैन । रुस र साउदी अरेबिया विश्वकपमा पहिलो पटक भिड्न लागेका हुन् ।

विश्वकप फुटबलको इतिहासमा उद्घाटन खेलमा अहिलेसम्म कुनै पनि आयोजक टिम पराजित भएको छैन ।

२१ संस्करणका २२ आयोजक टिम मध्ये १५ टिमले पहिलो खेलमा जित हात पारेका छन् भने ६ टिम बराबरीमा रोकिएका छन् ।