२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विराटनगरमा राधाकृष्ण रथयात्राको रौनक, हेलिकोप्टरबाट पुष्पवर्षा


0
Shares

विराटनगर, भदौ ७ । विराटनगरमा शनिबार भव्यताका साथ राधाकृष्ण रथयात्रा निकालिएको छ ।

विराटनगरको पोखरीयास्थित राधाकृष्ण मन्दिरमा विशेष पूजाआजापछि रथयात्रा निकालिएको हो ।

रथयात्राका लागि सुनौलो रङको प्यागोडा शैलीको २२ फिट लामो, १४ फिट चौडा र १८ फिट अग्लो रथ निर्माण गरिएको थियो ।

रथको अग्रभागको दायाँ र बायाँ गरी दुवैपट्टि ७५ फिट लामो रथ तान्ने लट्ठा निर्माण गरिएको थियो । दायाँ लट्ठा पुरुष र बायाँ महिला भक्तजनले तान्ने परम्परा छ ।

रथयात्राकाक्रममा हेलिकोप्टरबाट पुष्पवर्षा गराइएको थियो । ‘ड्रोन’ क्यामेरा, ‘सीसी’ क्यामेराको सहायतमा सुरक्षा निगरानी गरिएको थियो ।

रथयात्राको सुरक्षाका लागि झन्डै एक हजार ७०० प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

वि.सं. १९८८ सालदेखि ‘खट’ यात्राबाट सुरु भएको रथयात्रा २०२५ बाट लट्ठा लगाएर तान्ने रथमा राधाकृष्णको प्रतिमा राखेर नगर परिक्रमा गराउन सुरु गरिएको हो ।

पोखरीयास्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्राको प्रदेश नम्बर–१ का प्रदेशप्रमुख डा. गोविन्दबहादुर तुम्बाहाफे र संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बेलुन उडाएर उद्घाटन गरेका थिए ।

रथयात्रामा ठूलो संख्यामा भक्तजनको सहभागिता थियो ।

प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट यहाँ राधाकृष्ण रथयात्रा निकालिन्छ ।