१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


ट्राफिक व्यवस्थापनमा महिला ट्राफिक प्रहरीको सशक्त उपस्थिति (भिडियो)


0
Shares

दीपक श्रेष्ठ र उत्तम मानन्धर (इमेज)

काठमाडौं, भदौ ५ । काठमाडौंको साँघुरो सडक अनि लाखौं सवारी–साधनको ओहोर–दोहोर । यति अस्तव्यस्त सहरमा ट्राफिक व्यवस्थापन गर्नु आफैंमा निकै जोखिम र चुनौतीपूर्ण काम हो ।

यो चुनौतीपूर्ण काममा खरोरुपमा उत्रिएका छन्, महिला ट्राफिक प्रहरी । त्यसैले होला, ट्राफिक प्रहरी महाशाखाले निकै अस्तव्यस्त ठाउँमा महिला ट्राफिक प्रहरीलाई नै अघि सार्न थालेको छ ।

कुनै समय काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वरलगायतका चोकहरुमा ट्राफिक व्यवस्थापन निकै फितलो थियो । ती ठाउँहरुमा सवारी–साधनको लामै जाम हुने गरेको थियो ।

ट्राफिक प्रहरी महाशाखाले ती चोकहरुमा महिला ट्राफिक प्रहरीको ‘कमान्ड’ रहनेगरी महिला ट्राफिक प्रहरीलाई नै खटाएपछि अवस्थामा निकै सुधार आयो ।

ट्राफिक नियमको पालना नगर्ने सवारीचालकहरुप्रति उनीहरुले शून्य सहनशीलता अपनाएर काम गरे । ट्राफिक नियममा निकै कडाइ गर्न थालेपछि सवारीचालक पनि सतर्क हुने गर्दथे ।

कामप्रतिको लगनशीलता र कार्यकुशलताले नै होला, अहिले निकै व्यस्त रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चोकमा ट्राफिक व्यवस्थापनको जिम्मा महाशाखाले महिला प्रहरीको काँधमा सुम्पिएको छ ।

महाशाखाले थापाथली प्रभागका अधिकांश महिला ट्राफिक प्रहरीलाई एअरपोर्ट प्रभागमा पठाएको छ ।

यहाँ झन्डै ३० जना महिला ट्राफिक प्रहरी सडक र सवारीको व्यवस्थापनमा खटिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आफ्ना २६ ओटा युनिटमा १२५ जना महिला ट्राफिक प्रहरी खटाएको छ ।

ट्राफिक महाशाखाकाअनुसार २६ युनिटमध्ये ट्राफिक प्रहरी एअरपोर्ट प्रभागमा ३० जना, महाशाखाको कार्यालय रामशाह पथमा ५० जना, थापाथली प्रभागमा १३ जना महाराजगन्जमा चारजना, कलंकी प्रभागमा चारजना, भक्तपुरमा चारजना र सिंहदरबारमा चारजना रहेका छन् । अन्य युनिटहरुमा एकदेखि दुईजना महिला ट्राफिक प्रहरी खटाइएको छ ।

भिडियो हेर्नुहोस्