
दीपक घिमिरे (इमेज)
भैरहवा, भदौ ४ । नेपाली कांग्रेसले ४०० जना महाधिवेशन प्रतिनिधिलाई दुई दिनसम्म प्रशिक्षण दिएको छ ।
महाधिवेशनलाई लक्षित गरी प्रदेश नम्बर–५ को भैरहवामा आयोजना गरिएको प्रशिक्षणबाट आफूहरुमा नयाँ उत्साह सन्चार भएको सहभागीहरुले बताएका छन् ।
कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा आयोजना गरेको महाधिवेशन प्रतिनिधिलक्षित प्रशिक्षण कार्यक्रम मंगलबार प्रदेश–५ को भैरहवामा सम्पन्न भयो ।
प्रदेशअन्तर्गत्का १२ जिल्लाका ४०० महाधिवेशन प्रतिनिधिले आगामी महाधिवेशन, उपनिर्वाचन तथा निर्वाचनकेन्द्रित विषयमा प्रशिक्षण लिएका हुन् ।
सांगठनिक संरचना, विधान र विशेषता, पार्टीको राजनीतिक, आर्थिक दृष्टिकोण, कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारको मूल्यांकनलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले प्रशिक्षणले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई तेजिलो बनाएकाले आगामी दिनमा पार्टी र पार्टीको सिद्धान्त अझै चम्किने दाबी गरे ।
पार्टीलाई पुनः उर्जाशील बनाउन प्रशिक्षणले नेता–कार्यकर्तालाई उत्प्रेरित गरेको भन्दै यो अभियान गाउँ–गाउँसम्म पुर्याएर जनप्रिय बन्ने विश्वास गरिएको छ ।
अघिल्लो निर्वाचनमा पार्टी पराजयको कारणबारे प्रतिनिधिसँग सघन बहस र छलफल भएको प्रतिष्ठानका सदस्य प्रमोदहरि गुरागाइँको भनाइ छ ।
प्रशिक्षणपछि प्रतिनिधिले गाउँ–गाउँमा गएर कांग्रेसका सिद्धान्तका विषयमा बहस गर्न र समयसामयिक गतिविधिमा टिप्पणी गर्नसक्ने बताएका छन् ।
यसले सत्ताको आडमा गरिएका गलत कार्यको नेकपाका कार्यकतासँग विरोध र प्रतिरोध गर्ने ऊर्जा दिएको प्रतिनिधि कमलप्रसाद भुसालको भनाइ छ ।
आगामी दिनमा कार्यकर्तालाई जागरुक बनाउँदै टोलटोलबाट जुर्मुराउने विश्वास पार्टीले लिएको छ ।
दुई दिनसम्म चलेको प्रशिक्षणमा डा. जगदीशचन्द्र पोखरेल, डा. गोविन्द पोखरेल, डा. आरजु देउवा, केशव निरौला, पुरुषोत्तम दाहाल, राजु नेपाललगायतले प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्