‘सभा र जुलुसहरू संक्रमण फैलने दृष्टिले निकै खतरनाक’ « Image Khabar


‘सभा र जुलुसहरू संक्रमण फैलने दृष्टिले निकै खतरनाक’


मीरा बस्नेत (इमेज)
३० मंसिर २०७७, मंगलवार १९:०६

काठमाडौं, मंसिर ३० । विश्वका कतिपय देशहरुमा कोरोना संक्रमणको दोस्रो लहर देखिन सुरु भएसँगै रोकथामको लागि ‘लकडाउन’समेत गरिएको छ । तर, नेपालमा भने सरकार र प्रतिपक्ष दल दुवैबाट कोरोनाको जोखिमको बेवास्ता गरिँदै छ ।

सरकारको समर्थन र विरोधमा निस्कने भिडले संक्रमणको जोखिम झनै बढेको विज्ञहरुको तर्क छ ।

कोरोना महामारी सुरु भएदेखि नै सरकारले कुनैपनि सभा, जुलुस तथा भिडभाड हुने गतिविधि नगर्न निरन्तर निर्देशन दिँदै आएको छ ।

तर, महामारीको समयमा पनि देशका विभिन्न ठाउँमा सभा, जुलुस र ठूला प्रदर्शनहरु भइरहेका छन् ।

आफ्नै निर्देशनको बेवास्ता गर्दै कतिपय सभाहरुमा प्रधानमन्त्री, उपप्रधानमन्त्रीदेखि मन्त्रीहरुसमेत सरिक भएको थुप्रै उदाहरण छन् ।

नेपालमा संक्रमण दर उकालो लागिरहेको बेला सरकारको विरुद्ध र समर्थनमा विभिन्न जिल्लामा प्रदर्शन भएको थियो । तर, पछिल्लो समय सभा, प्रदर्शन धेरै हुन थालेका छन् ।

कात्तिक २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विकास आयोजनाको अनुगमनको क्रममा संखुवासभामा ठूलै जमघटलाई सम्बोधन गर्दै आफ्नै निर्देशनलाई लत्याउनुभयो ।

यस्तै, मंसिर २० गते राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा देशका प्रमुख सहरहरुमा राजावादीले प्रदर्शन गरेका थिए ।

यस्तै, कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै आलोचना गर्ने नेपाली कांग्रेस आफैंले देशभर मंसिर २९ गते जनआन्दोलनकै झझल्को दिने विशाल प्रदर्शन गर्‍यो ।

सभा र जुलुसहरू संक्रमण फैलने दृष्टिले निकै खतरनाक भएको जनस्वास्थ्यविद्हरूको तर्क छ ।

तथ्यांकले नेपालमा कोरोना संक्रमणको दरमा कमी आएको देखाएपनि संक्रमणको जोखिम भने यथावत् नै छ ।

सहर, बजारको बढ्दो चहलपहलले पनि संक्रमणको दर घटेको हो किजस्तो देखिन्छ । स्वास्थ्य सुरक्षाका मापदण्ड निकै कम पालना गरेको पाइन्छ । सभा र जुलुसमा जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न सम्भव पनि हुँदैन ।

नेपालमा कोरोना संक्रमणको जोखिम यथावत् नै रहेकाले यस्ता गतिविधिले संक्रमणको दर फेरि उकालो नलाग्ला भन्न सकिन्न ।

अमेरिकामा चुनावपछि संक्रमितको संख्या निकै बढेको थियो । यो नै यसको ज्वलन्त उदाहरण हो ।

विश्वका मुलुकहरुमा संक्रमण रोकथामका लागि भएका प्रयासहरुबाट सिक्नुपर्नेमा राजनीतिक दल र सरकारकै बेवास्ता चिन्तालान्दो विषय हो ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्