धादिङ, साउन २४ । धादिङमा भएको यात्रुबस दुर्घटनामा मृतकको संख्या पाँच पुगेको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशुली नदीमा आज बिहान भएको दुर्घटनामा मृतकको संख्या पाँच पुगेको हो ।
मृत्यु हुनेमा सर्लाहीका ३५ वर्षीय अजय दास, सर्लाहीकै २५ वर्षीय विजय कुर्मी छन् । अर्का एक जना मृतकको भने सनाखत हुन सकेको छैन । उनीहरु तीनै जनाको घटनास्थलमा मृत्यु भएको हो ।
यस्तै चितवनको जुगेडीमा एक जनाको शव फेला परेको छ भने मुग्लिनमा पनि अर्का एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको पनि सनाखत हुन सकेको छैन ।
सर्लाहीको मलंगवाबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ७४६९ नम्बरको यात्रुबाहक बस आज बिहान साढे तीन बजे त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका १६ जनाको उद्धार गरेर थप उपचाका लागि काठमाडौं पठाइएको छ । बसमा सवार अन्यको खोजी कार्य भइरहेको छ ।
सर्लाहीको मलंगवाबाट चलानी हुँदा ३८ जना यात्रु रहेको प्रहरीले जनाएको छ । बसका यात्रुका अनुसार बाटोमा केही यात्रु थपिएकाले बसमा रहेकाहरुको यकिन संख्या भने पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्