Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


मोदीले राष्ट्रका नाममा सम्बोधन गरिरहँदा इमरान खानले गरे यस्तो टिप्पणी


0
Shares

काठमाडौं, साउन २४ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरको ‘विशेषाधिकार’ खोसिएपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारको निर्णयको बचाउ गरेका छन् ।

बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले जम्मु–कश्मीर र लद्दाखमा नयाँ युग सुरु भएको दावी गरे । ‘अब देशका नागरिकको हक पनि समान भएको छ, दायित्व पनि समान भएको छ,’ मोदीले सम्बोधनमा भने, ‘आर्टिकल ३७० र ३५–ले जम्मु कश्मीरमा पृथकतावाद, आतंकवाद, परिवारवाद र शासन व्यवस्थामा ठूलो परिमाणमा फैलिएका भ्रष्टाचारका अतिरिक्त अरु केही दिएको थिएन, यी दुवै अनुच्छेदको प्रयोग पाकिस्तानद्वारा देशका विरुद्ध केही मानिसको भावना भड्काउनका लागि हतियारका रुपमा हुँदै आएको थियो ।’

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने कश्मीरका जनता भारत सरकारको निर्णयप्रति असन्तुष्ट रहेको प्रष्ट पार्दैै आन्दोलन उग्र हुने चेतावनी दिएका छन् ।

उनले बिहीबार साँझ ट्वीट गर्दै भनेका छन्, ‘विश्वले भारत प्रशासित कश्मीरमा कर्फ्यु हटोस् र त्यहाँका उत्पीडित कश्मीरीमाथि के भएको थियो भन्ने जानकारी होस् भन्ने चाहेका छन् । भाजपा सरकारले कश्मीरीविरुद्ध ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेर स्वतन्त्रता आन्दोलन रोक्न सकिन्छ भन्ने सोचेको छ ? यसले आन्दोलनलाई अझ उग्र बनाउनेछ ।’

अर्को ट्वीटमा उनले भनेका छन्, ‘यो स्वाभाविक छ कि अन्तर्राष्ट्रिय समुदाय भारतको कब्जामा रहेको कश्मीरमा नरसंहारको साक्षी बन्ने छ, प्रश्न यो छ कि के हामी एक फाँसीवादको साक्षी बन्छौं जो यसपटक भाजपा सरकारको रुपमा छ, या दुनियाँले यसलाई रोक्ने साहस गर्छ ?’ (एजेन्सी)