उखुको समर्थन मूल्य बढ्यो « Image Khabar


उखुको समर्थन मूल्य बढ्यो


Imagekhabar
२७ मंसिर २०७७, शनिबार ०९:१३

काठमाडौं, मंसिर २७ । सरकारले उखुको न्यूनतम समर्थन मूल्य ८ रुपैयाँले बढाउने निर्णय गरेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले न्यूनतम समर्थन मूल्य बढाएर प्रतिक्विन्टल ५ सय ४४ रुपैयाँ ३३ पैसा बनाउने निर्णय गरेको हो ।

नयाँ मूल्यमा लागत ३८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च तथा मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्वीन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा रहेको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले बताउनुभयो ।

नेपाल उखु उत्पादक महासंघले चिनीको मूल्य एक किलोमा ३२ रुपैयाँले बढ्दा उखुको मूल्य भने निकै कम मात्रामा बढ्नु दुःखद भएको बताएको छ ।

यता, किसानहरुले चिनी उद्योगीबाट लिनुपर्ने करिब ९० करोड उठाउन निर्णायक आन्दोलनको घोषणा गरेका छन् ।

पहिलो चरणमा भोलीदेखि माइतीघरमा शान्तिपूर्ण आन्दोलन हुने किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताउनुभयो ।

नगदे बालीका रूपमा परिचित उखुखेती गर्ने किसानलाई बर्सेनि चिनी मिल सञ्चालकले भुक्तानीका लागि झुलाउने गरेका छन् ।

देशभर सञ्चालित १३ चिनी मिलमध्ये ६ वटाले भुक्तानी नदिएर दुःख दिएको किसानहरूको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्