१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


‘किम्फ’ को १८ औं संस्करण सुरु


0
Shares

काठमाडौं । काठमाण्डु इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को १८ औं संस्करण आजबाट सुरु भएको छ ।

डिसेम्बर १४ सम्म हुने भर्चुअल फेष्टिभलमा १५ मुलुकका १८ चलचित्रहरु प्रदर्शनका लागि छानिएका छन् ।

त्यसबाहेक नेपाल पानोरामा अन्तर्गत कथानक र डकुमेन्ट्री गरी १२ वटा चलचित्रहरु देखाइनेछन् । फिल्म फेस्टिभलको क्रममा सिनेकर्मी र वक्ताहरुसँग भर्चुअल अन्तरक्रिया हुनेछ र परिसंवादको कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय चलचित्रहरुमा पर्वतीय जनजीवन, संस्कृति, वातावरण र पर्वतारोहण तथा साहसिक क्रिडाकर्महरु समेटिएका छन् भने नेपाल पानोरामा फेरि एकपटक प्रतिभाशाली युवा नेपाली सिनेकर्मीहरुको प्रस्तुति देख्न पाइनेछ ।

यस पटक किम्फको सन्देश ‘तमसोमा ज्योतिर्गमय’ रहेको छ । किम्फ २०२० को उदुघाटन भुटानी फिल्म निर्देशक खेन्चे नोर्बु रिम्पोचेको नयाँ चलचित्र लुकिङ फर अ लेडी विथ फ्याङ्स एन्ड अ मुस्टयाच को प्रदर्शनबाट हुनेछ ।

यस चलचित्रको पूरै छायांकन नेपालमै भएको थियो । उक्त अवसरमा रिम्पोचेले भर्चुअल प्रवचन पनि दिनेछन् ।

अन्तर्राष्ट्रिय खण्डमा १५ देशका १८ वटा चलचित्र र नेपाल पानोरामातर्फ १२ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तर्राष्ट्रिय खण्डतर्फ पहिलो, दोस्रो र तेस्रो हुने चलचित्रले क्रमशः २ लाख, १ लाख ५० हजार र १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

उत्कृष्ट ठहरिने नेपाली कथानक चलचित्र र उत्कृष्ट डकुमेन्ट्रीको पुरस्कार राशी क्रमशः १ लाख र ७५ हजार रुपैयाँ रहेको छ ।

पुरस्कार रकम क्रमशः मिला प्रोडक्सन्स तथा चलचित्र विकास बोर्डले उपलब्ध गराएको हो ।