पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला « Image Khabar


पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला


रासस
१५ मंसिर २०७७, सोमबार १७:५०

pashupati balachaturdashi

काठमाडौं, मंसिर १५ । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ ।

भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदन्डसमेत कोषले तयार पारेको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार भक्तजनलाई एउटा ढोकाबाट प्रवेश गराइ अर्कोबाट निकाल्ने गरी व्यवस्था मिलाइने छ ।

विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले ज्योतिर्लिंगको पनि ज्योतिर्लिंग अर्थात् महाज्योतिर्लिंगका रुपमा आस्था राख्ने मन्दिर नौ महिनादेखि बन्द रहँदा भक्तजनले मन्दिरमा दर्शन गर्न पाएका थिएनन् ।

सार्वजनिक यातायातलगायत अन्य क्षेत्र खुला हुँदा पनि पशुपतिनाथ मन्दिर खुला नभएको भन्दै विश्व हिन्दु महासंघलगायत संघ–संस्थाले पशुपति क्षेत्रमा विभिन्न विरोधका कार्यक्रमसमेत सञ्चालन गर्दै आएका थिए ।

कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि चैत ११ गते सरकारले बन्दाबन्दीको निर्णय गरेसँगै पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरुपमा बन्द गरिएको थियो ।

यस वर्ष साउनको सोमबारसमेत पशुपतिनाथ मन्दिरमा दर्शन गर्न नपाइएको भन्दै भक्तजनले गुनासो गर्ने गरेका थिए । साउनको सोमबार भक्तजनले पशुपति क्षेत्र परिक्रमा गरेर आस्था प्रकट गरेका थिए ।

इतिहासमै यति लामो अवधि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको वंशावलीलगायत कतै पनि उल्लेख नगरिएको कोषका पूर्वसदस्यसचिव डा. गोविन्द टण्डन बताउनुहुन्छ ।

चैतपछि पशुपतिनाथको नित्यपूजा आरती चलिरहेपनि भक्तजनले विशेष पूजा र दर्शन गर्न भने पाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्