Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


विद्यार्थीहरुलाई ढुक्कसँग परीक्षा दिन शिक्षा मन्त्री पोखरेलको आग्रह


0
Shares

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य सम्बन्धी तोकिएका मापदण्ड पूरा गरी ढुक्कसँग परीक्षा दिन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ ।

कक्षा १२ को परीक्षाको पूर्वसन्ध्यामा शुभकामना दिँदै मन्त्री पोखरेलले परीक्षामा सामेल हुन लागेका विद्यार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन अनुरोध गर्नुभएको हो ।

मन्त्री पोखरेलले परीक्षा केन्द्रमा आउँदा–जाँदा र घरमा रहँदा आवश्यक सचेतना अपनाउन पनि अनुरोध गर्नुभएको छ ।

उहाँले सही ढंगले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुन पानीले हात धुने जस्ता सामान्य कुरा पनि पालनामा हेलचेक्राइँ गर्दा कोरोना संक्रमणको महामारी गहिरिएकाले सचेत रहन आग्रह गर्नुभएको छ ।

परीक्षा केन्द्रहरुमा भौतिक दूरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने जस्ता कोभिड सुरक्षण मापदण्ड कडाइपूर्वक पालना गर्नेलगायत परीक्षा सम्बन्धी आवश्यक सम्पूर्ण पक्षहरुको व्यवस्थापन गरिएको बताउँदै मन्त्री पोखरेलले ढुक्क भएर परीक्षामा सहभागी हुन अनुरोध गर्नुभएको हो ।

कक्षा १२ को परीक्षा भोलिदेखि सुरु हुँदै छ । यस पटकको परीक्षामा होम सेन्टर (आफू रहेको स्थान नजिकको परीक्षा केन्द्र)बाट पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

यसपटक कूल पूर्णांकमध्ये ४० प्रतिशतको मात्र संक्षिप्त परीक्षा हुने छ । बाँकी ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंकको आधारमा विद्यार्थीहरुले नम्बर पाउने छन् ।

बाँकी २० प्रतिशत कक्षाकार्य, गृहकार्य, अतिरिक्त क्रियाकलाप, समय–समयमा विद्यालयले लिएको परीक्षासमेतलाई आधार मानेर विद्यालयले आन्तरिक मूल्यांकन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले यो परीक्षा सम्पन्न गर्दैछ ।

परीक्षाको सिलसिलामा परीक्षार्थीहरुलाई कोभिड संक्रमण पुष्टि भई परीक्षामा सहभागी हुन नसक्ने भएमा पुनः परीक्षा दिन पाउने व्यवस्थासमेत मिलाइएको छ ।