विश्व बैंकसित ४२ अर्ब रुपैयाँ बराबर सहयोगका लागि समझदारी « Image Khabar


विश्व बैंकसित ४२ अर्ब रुपैयाँ बराबर सहयोगका लागि समझदारी


इमेजखबर
३ मंसिर २०७७, बुधबार १६:१७

काठमाडौं, मंसिर ३ । विश्व बैंकले नेपाललाई ४२ अर्ब रुपैयाँ बराबर सहयोग गर्ने भएको छ ।

नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंक र सरकारबीच ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपालको ‘सहरी विकास र पूर्वाधार आयोजना’ र ‘आर्थिक वृद्धिका लागि वित्त’ विकास नीति सहायतासम्बन्धी दुईओटा सम्झौतामा विश्व बैंक र अर्थ मन्त्रालयबीच बुधबार सम्झौता भएको हो ।

सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थसचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गर्नुभएको हो ।

उक्त सहायताअन्तर्गत् १५ करोड अमेरिकी डलर अर्थात् करिब १८ अर्ब रुपैयाँ बराबरको रकम विभिन्न ३३ ओटा नगरपालिकाहरुको सहरी विकास र पूर्वाधार आयोजनामा खर्च हुनेछ ।

सो रकम पूर्वी तराई क्षेत्रमा प्रदेश नम्बर–१ र प्रदेश–२ का र पश्चिमी क्षेत्रमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका नगरपालिकाहरुमा खर्च गरिने अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगानाले बताउनुभयो ।

यस्तै, नेपालको वित्तीय क्षेत्रको स्थिरतालाई सुदृढ बनाउन, वित्तीय समाधानका लागि उपकरणहरुमा विविधता ल्याउन र वित्तीय सेवाहरुको पहुँचमा वृद्धि गर्नका लागि विश्व बैंकले २० करोड अमेरिकी डलर अर्थात् करिब २४ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग पनि गरेको छ ।

विश्व बैंकको यो सहयोगले नेपालमा सहरी विकासको सुदृढीकरण, सहरी गुणस्तर विकास र वित्तीय क्षेत्रको स्थिरतामा सुधार पुर्‍याउन सहयोग पुग्ने अर्थसचिव ढुंगानाले बताउनुभयो ।

दुवै आयोजनाले नेपालमा संघीयता कार्यान्वयन र वित्तीय सुधारको विषयलाई टेवा दिँदै सरकारको कोभिड–१९ पश्चातको आर्थिक पुनरुत्थानको प्रयासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

विश्व बैंकका निर्देशक जर्भोसले राहत, पुनरुत्थान र उत्थानशील आयोजना कार्यान्वयनका लागि नेपाल सरकारको प्रयासमा विश्व बैंकले सधैं सहयोग पुर्‍याउँदै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्