रानीपोखरी गुरुयोजनाको काम चरणबद्धरुपमा हुन्छ : मेयर शाक्य • Image Khabar Image Khabar


रानीपोखरी गुरुयोजनाको काम चरणबद्धरुपमा हुन्छ : मेयर शाक्य


इमेजखबर
६ कार्तिक २०७७, बिहीबार १४:४१

रानीपोखरी गुरुयोजनाको काम चरणबद्धरुपमा हुन्छ : मेयर शाक्य

काठमाडौं, कात्तिक ६ । काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भएपनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणबद्धरुपमा अगाडि बढाउने भएको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रानीपोखरी गुरुयोजनाअनुसारको निर्माणका लागि धेरै काम बाँकी रहेकोले चरणबद्धरुपमा निर्माण गरिने बताउनुभयो ।

रानीपोखरीको मुख्य प्रवेशद्वार र ऐतिहासिक पार्टीलगायतका संरचनाको निर्माण गर्न बाँकी रहेको छ ।

त्यस्तै, गुरुयोजनाअन्तर्गत् त्रिचन्द्र कलेज, प्रहरी आयुक्तको कार्यालय, शान्ति बाटिका, रत्नपार्कलगायतलाई समावेश गरी बृहत् रानीपोखरीको रुपमा विकास गरिने मेयर शाक्यले बताउनुभयो ।

वि.सं. २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरी पुनःनिर्माणको क्रममा आधुनिक शैलीमा बनाउन लागिएको भन्दै विवाद भएको थियो ।

तर, पछि विज्ञहरुको सुझावअनुसार भूकम्पअघि गुम्बज शैलीमा रहेको बालगोपालेश्वरको मन्दिर प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पुनःनिर्माण गरिएको छ ।

रानीपोखरीको मुख्य पोखरी र बालगोपालेश्वर मन्दिरको कामबाहेक महानगरपालिकाले बनाएको गुरुयोजनाअनुसार बृहत् रानीपोखरीको विकास गर्न भने बाँकी छ ।

मेयर शाक्यकाअनुसार रानीपोखरी विस्तारको काम सम्पन्न भइसकेपछि खुलापार्कको रुपमा नागरिकका लागि खुला हुनेछ । तर, पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भने भाइटीकाको दिनमात्रै खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्