
काठमाडौं, असार २९ । देशका विभिन्न भागमा लगातारको वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या ६० पुगेको छ । मृतकमध्ये २४ जना महिला र ३६ जना पुरुष छन् ।
बाढी पहिरोमा २६ जना बेपत्ता भएका छन् भने ३८ जना घाइते भएका छन् । हालसम्म एक हजार ४४४ जनाको सकुशल उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीले काठमाडौं उपत्यकामा मात्र ८ जनाको मृत्यु भएको जनाएको छ । काठमाडौंमा तीन र ललितपुरमा ५ जनाको मृत्यु भएको हो ।
सबैभन्दा धेरै प्रदेश १ मा १७ जनाको मृत्यु भएको छ । प्रदेश १ अन्तर्गत भोजपुरमा पाँच, ओखलढुंगामा चार, खोटाङमा तीन, झापामा दुई, सुनसरी, उदयपुर, इलाममा एकएक जनाको मृत्यु भएको छ ।
प्रदेश २ मा सात, प्रदेश ३ मा १२, प्रदेश ५ र कर्णाली प्रदेशमा दुईदुई जनाको मृत्यु भएको छ । प्रदेश २ अन्तर्गत धनुषा र बारामा दुईदुई तथा पर्सा, रौतहट, सिरहामा एकएक गरी सात जनाको मृत्यु भएको छ ।
प्रदेश ३ अन्तर्गत काभ्रे र मकवानपुरमा तीनतीन, सिन्धुली र धादिङमा दुईदुई तथा रामेछाप र चितवनमा एकएक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै प्रदेश ५ को पाल्पा र दाङमा एकएक तथा कर्णाली प्रदेशको डोल्पामा दुई जनाको मृत्यु भएको छ । डोल्पास्थित कासिल खोलाले बगाएर ११ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीले उद्धार जारी राखेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्