
काठमाडौं, साउन, १ । ठोरीका सञ्चारउद्यमी, सञ्चारकर्मी, गीतकार तथा गायक सन्तोष देउजाको चर्चित ‘ऋषि धमला’ बोलको गीत मंगलबार सार्वजनिक गरिएको छ ।
काठमाडौं स्थित होटल हार्दिकमा पत्रकार सम्मेलन गरी नेपालका चर्चित पत्रकार ऋषि धमलाको व्यक्तित्वमा आधारित रही बनाईएको ‘ऋषि धमला’ बोलको गीत गीतकार देउजाले स्वयम् सार्बजनिक गरेका हुन् ।
तीज पर्वको पूर्व सन्ध्यामा ‘ऋषि धमला’ बोलको गीत सार्वजनिक गरिएको उनले बताए ।
पत्रकार ऋषि धमलाको आलोचना र प्रशंसाले भरिएको देउजाको गीत रेकर्डिङ र म्यूजिक भिडियो छायाँकनकै क्रममा सामाजिक सञ्जाल, विभिन्न प्रिन्ट तथा अनलाइन मिडियामा भाइरल बनिसकेको देउजाले बताए ।
पत्रकार सम्मेलनमा गीतकार देउजाले छुट्टै धारमा रहेर बनेको यस गीत तथा म्यूजिक भिडियोले गीत संगीत पारखी श्रोता तथा दर्शकहरुको मन जित्ने विश्वास व्यक्त गरेका थिए ।
तीज पर्वको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको गीत भएपनि यस गीतलाई समसामयिक गीतको रुपमा आफूले लिएको उनले बताए ।
गीतको म्यूजिक भिडियो हाइलाईट्स नेपालको यूट्यूब च्यानल मार्फत पनि सार्वजनिक गरिएको छ ।
कुनै पत्रकारलाई केन्द्रमा राखेर तयार भएको सायद पहिलो गीत भएको प्रतिक्रिया देउजाले दिए ।
गीतमा चर्चित लोक तथा दोहोरी गायिका राधिका हमाल र प्रदिप त्रिपाठीले आवाज भरेका छन् भने राकेस सोनीले संगीत संयोजन गरेका छन् ।
प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियो बबरमहलमा रेकर्ड भएको गीतको दृश्य निर्माण साई भिजन प्राली अनामनगरले गरेको हो ।
प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडियोमा स्वयं ऋषि धमला र चर्चित मोडल अञ्जली अधिकारीको अभिनय रहेको छ ।
नेपाली नारीको महान पर्व हरितालिका तीज पर्वलाई लक्षित गरी कपुरबोट मिडिया प्रालिले गीतलाई बजारमा ल्याएको हो ।
प्रतिक्रिया दिनुहोस्