Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


अख्तियारद्वारा त्रिवि सेवा आयोगका अध्यक्ष शर्मासहित १० जनाविरुद्ध मुद्दा


0
Shares

काठमाडौं, असार १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध परीक्षाको परिणाम फेरबदल गरेको आरोपसहित बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

त्रिवि सेवा आयोगले विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि लिएको लिखित परीक्षामा प्राप्तांक फेरबदल गरी आयोगका पदाधिकारी र कर्मचारीहरुका आफन्तलाई उत्तीर्ण गराइ अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

विभिन्न १६ किसिमका प्रशासनिक तथा प्राविधिक पदहरुका लागि विज्ञापन गरी परीक्षा लिएकामा शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक गरी ६ ओटा पदहरुको उत्तरपुस्तिका परीक्षणबाट अनियमितता पुष्टि भएको पनि अख्तियारले जनाएको छ ।

शाखा अधिकृतमा ६ जनाको उत्तरपुस्तिकामा केरमेट गरेर अंक थपघट गरेको र सो कार्यमा उत्तरपुस्तिका परीक्षक गोविन्द ढकाल र टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता देखिएको अख्तियारले जनाएको छ ।

यस्तै, लेखा अधिकृत पदमा ७ जनाको उत्तरपुस्तिका केरमेट गरी नम्बर थपघट गरी नतिजा प्रभावित गरेको पाइएको र उत्तरपुस्तिका परीक्षक राजेश्वर न्यौपाने र सम्परीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता पाइएको अख्तियारले जनाएको छ ।

त्यसैगरी, सहायक कानुनी सल्लाहकार पदका लागि लिएको परीक्षामा तीनजनाको उत्तरपुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अंक थपघट गरी परिणाम फेरबदल गराएको जिकिर अख्तियारले गरेको छ ।

ती तीनजनामध्ये एकजना ३७ अंक आएकोलाई १५ अंक थपिदिएर ५२ पुर्‍याएको र अरु दुईजनाको प्राप्तांक घटाइ ५० मा झारेको पाइएको र त्यसो गर्ने कार्यमा सम्परीक्षक ताराप्रकाश पौडेलको प्रत्यक्ष संलग्नता रहेको अख्तियारले जनाएको छ ।

त्यसैगरी, मुख्य लेखा सहायक पदका लागि लिइएको परीक्षामा ६ जनाको उत्तरपुस्तिकामा केरमेट गरेर अंक थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको र त्यसमा उत्तरपुस्तिका परीक्षक राजेश्वर न्यौपाने र सम्परीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको जिकिर पनि अख्तियारले गरेको छ ।

मुख्य कार्यालय सहायक पदका लागि लिइएको परीक्षामा ११ जनाको उत्तरपुस्तिकामा शंकास्पद केरमेट गरेर अंक थपघट गरेको तथा त्यसो गर्ने कार्यमा उत्तरपुस्तिका परीक्षक रामबहादुर पाण्डे र सम्परीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको जनाइएको छ ।

कार्यालय सहायक पदका लागि लिइएको परीक्षामा दुईजनाको उत्तर पुस्तिकामा केरमेट गरेर अंक थप गरेको तथा त्यसमा उत्तरपुस्तिका परीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको देखिन आएको अख्तियारले जनाएको छ ।

मुद्दा दायर गरिएकाहरुमा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मा, सदस्य चिन्तामणि पोखरेल, आयोगको कार्यालयका प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी इन्दिरा तिवारी भन्तना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सहप्राध्यापक राजेश्वर न्यौपाने, सहप्राध्यापक ताराप्रकाश पौडेल र रामबहादुर पाण्डे क्षत्री रहेका छन् ।