गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ « Image Khabar


गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१


प्रदीप पौडेल (इमेज)
३० भाद्र २०७७, मंगलवार १४:३६

पोखरा, भदौ ३० । पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-९ का ७० वर्षीय पुरुषको मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

भदौ २५ गते अस्पताल भर्ना गरिएका ती वृद्धमा भदौ २८ मा कोरोना पुष्टि भएको थियो ।

क्यान्सरका बिरामी रहेका उनको सोमबार राति ११ः२० बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसहित पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

कास्की जिल्लाभर १० जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिकाका आठ र अन्नपूर्ण र मादी गाउँपालिकाका एक/एकजना गरी कोरोनाबाट कास्कीमा १० जनाको मृत्यु भएको हो ।

कोरोनाबाट गण्डकी प्रदेशभर मृतकको संख्या ३१ पुगेको छ । जसमा कास्कीका १०, गोरखाका छ, नवलपुरका पाँच, तनहुँका चार, स्याङ्जाका तीन, बागलुङ, म्याग्दी र लमजुङका एक/एकजना रहेका छन् ।

गण्डकी प्रदेशका सात जिल्लामा मंगलबारमात्र ४७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या तीन हजार १२१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्