Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


समाचारको विषयलाई लिएर सञ्चारगृहमा आक्रमण


0
Shares

कैलाली, भदौ २६ । समाचारको विषयलाई लिएर धनगढीस्थित दिनेश सञ्चारगृहमा सांघातिक आक्रमण भएको छ ।

‘धनगढीमा थुनुवाकक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या’ भन्ने समाचार झुटो भएको र ‘डिलिट’ गर्नुपर्ने भन्दै शुक्रबार कार्यालयमा पुगेका १५/२० जनाले दिनेश सञ्चारगृहमा आक्रमण गर्दै त्यहाँ कार्यरत् पत्रकारमाथि कुटपिट पनि गरेका हुन् ।

सञ्चारगृहका सहसम्पादक जनक विष्टलगायतका पत्रकारमाथि उनीहरुले कुटपिट गरेका हुन् ।

स्टेसन म्यानेजर अमिता कुँवर, प्राविधिक कल्पना सिंहमाथि पनि हातपात गरेको दिनेश एफएमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले दिएको जानकारीका आधारमा शुक्रबार ‘धनगढीमा थुनुवाकक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या’ भन्ने समाचार दिनेशखबर डटकममा प्रकाशन गरिएको थियो ।

दिनेश एफएमको समाचारकक्षमा प्रवेश गरेर पत्रकारहरुमाथि हातपात गर्ने उच्छृङ्खल समूहलाई कारबाहीका लागि नेपाल पत्रकार महासंघ सुदूपश्चिम प्रदेश, नेपाल पत्रकार महासंघ कैलाली, नेपाल प्रेस युनियन कैलाली, नेपाल फोटो पत्रकार महासंघ कैलाली, नेपाल खेलकुद पत्रकार मञ्च कैलालीलगायतका संघ-संगठनले विज्ञप्तिमार्फत् माग गरेका छन् ।