नुवाकोटमा थप सात दिन निषेधाज्ञा • Image Khabar Image Khabar


नुवाकोटमा थप सात दिन निषेधाज्ञा


Imagekhabar
९ भाद्र २०७७, मंगलवार १९:४८

नुवाकोटमा थप सात दिन निषेधाज्ञा

विदुर, भदौ ९ । कोरोना (कोभिड–१९) सङ्क्रमण समुदायस्तरमा फैलिएसंँगै भाइरसको नियन्त्रण र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटले मंगलबार फेरि थप सात दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।

मंगलबार बसेको बैठकले जिल्लाको जोखिम देखिएका स्थान र विभिन्न नगरपालिका र गाउँपालिकाकामा कोभिड-१९ सङ्क्रमण समुदाय र बस्तीमा फैलिएपछि नागरिकको सुरक्षा र भाइरस नियन्त्रण गर्ने उद्देश्यका साथ मंगलबार १२ बजेदेखि राति थप निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिनुभयो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० र सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।

प्रजिअ ढकालले लिखु गाउँपालिका– ४, ५ र ६, तादी गाउँपालिका–३ र ५ , बेलकोटगढी नगरपालिका–५, ७, ८, १२ र १३ , ककनी गाउँपालिका–१, २, ४ र ६, शिवपुरी गाउँपालिका–६, ७ र ८ तथा तारकेश्वर गाउँपालिका–२, ४ र ५ का सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको बताउनुभयो ।

जिल्लाका अन्य भूभाग र विदुर नगरपालिकामा भने निषेधाज्ञा जारी नगरिए पनि तोकिएअनुसारका नियम पालन गर्नुपर्ने जनाइएको छ ।

नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण यात्रुवाहक सार्वजनिक यातायात र निजी सवारी साधनमा रोक लगाइनाका साथै मानिसको भीडभाड र जमघट हुन नदिई अत्यावश्यक सेवा मात्र सञ्चालन गरिने बताउनुभयो ।

उहाँका अनुसार अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दूध र दुग्धजन्य वस्तु, फलफूल तथा माछामासुका पसल बिहान ६ देखि ९ बजेसम्म र साँझ ४देखि ७ बजेसम्म मात्र सञ्चालन गरिने छ ।

जिल्लाका औषधि पसल, स्वास्थ्य संस्था तथा एम्बुलेन्स सेवा २४ सै घण्टा र कपडा तथा फेन्सी पसल बिहान ११ देखि अपराह्न ३ बजेसम्म मात्र सञ्चालन गर्न पाइने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज भट्टले जानकारी दिनुभयो ।

बैंक तथा वित्तीय संस्था र सहकारी संस्था भने बिहान ११ देखि अपराह्न २ बजेसम्म मात्र सञ्चालन गर्न पाइन्छ ।

उद्योग, कलकारखाना तथा विकासनिर्माणका काम स्थानीयस्तरमा उपलब्ध सीमित सङ्ख्यामा कामदार परिचालन गरी सञ्चालन गर्न सकिने छ ।

बैठकले जिल्लाका होटेल तथा रेष्टुरेण्ट, चियापसल, खाजापसल, मठमन्दिर, गुम्बा र खेलकूद, जिमखाना, ब्युटिपार्लर र शैलुनलगायत सञ्चालन गर्न नपाउने पनि निर्णय गरेको जिप्रकाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्