नेकपा विवादः महासचिव पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल, नेपाल पक्षले पायो बराबर हैसियत « Image Khabar


नेकपा विवादः महासचिव पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल, नेपाल पक्षले पायो बराबर हैसियत


Imagekhabar
३० श्रावण २०७७, शुक्रबार १४:२४

kp oli prachanda

काठमाडौं, साउन ३० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको सत्ता संघर्ष अन्त्य गर्नका लागि ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच विहीबार र शुक्रवार लगातार भएको छलफलपछि विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल बनाउने सहमति बनेको हो ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा तीन गूटका दुई/दुईजना सदस्य राखिएको छ ।

जसमा ओली पक्षबाट महासचिव पौडेल र शंखर पोखरेल, दाहाल पक्षबाट जनार्दन शर्मा र पम्फा भुषाल एवं नेता माधव नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डेलाई कार्यदलमा राखिएको छ ।

यस पटक नेपाल पक्षको समेत समान हैसियत रहने गरी कार्यदल बनाउन अध्यक्ष ओली तयार भएकाले तीनै गूटका दुई/दुई जना सदस्य राखिएको हो ।

यसअघि अध्यक्षद्वयसहित दोस्रा तहका नेताहरु बसेर छलफल गरे पनि कुनै निकास निस्किएको थिएन । कार्यदललाई सहमतिको खाका तयार पारेर ल्याउन भनिएको छ ।

पार्टीमा उत्पन्न समस्या कसरी समाधान गर्ने भन्नेबारे कार्यदलले अध्यक्षद्वयलाई सिफारिश गर्ने, त्यसैलाई टेकेर दुई अध्यक्षले सहमतिको प्रस्ताव सचिवालयमा पेश गर्ने र त्यसपछि मात्र स्थगित स्थायी कमिटी बैठक चलाउने विषयमा नेताहरुले सहमति गरेका हुन् ।

बिहीबारको छलफलमा अध्यक्ष ओलीले दाहाललाई थप कार्यकारी अधिकार दिने, केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने, आउँदो चैतमा महाधिवेशन गर्ने र आफू पूरै कार्यकाल प्रधानमन्त्री बन्ने प्रस्ताव गर्नुभएको थियो ।

ओलीको प्रस्तावमा दाहालले नेताहरु माधव नेपाल, झलनाथ खनाललगायतसँग छलफल गर्नुभएको थियो । तर उक्त प्रस्तावमा नेपाललगायत नेता सहमत नभएपछि कार्यदललाई जिम्मा दिइएको हो ।

असार १० गते शुरु भएको स्थायी कमिटी बैठक अलपत्रै छाडेका नेताहरुले आ–आफ्नो पल्ला भारी बनाउने खेलमा लाग्दा नेकपको विवाद तन्किरहेको छ ।

दाहाल–नेपालसहितका नेताले केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद त्याग्न दबाब दिइरहँदा ओलीले आफूले कुनै पद पनि नछाड्ने बरु सकेको गरेर देखाउन चुनौती दिनुभएको छ ।

दाहाल–नेपाल पक्ष भने ओलीको कार्यशैलीका कारण पार्टीको साख गिरेको भन्दै दुबै पद छाड्न भनिरहेका छन् ।

असार १८ गतेदेखि स्थगित हुँदै आएको स्थायी समिति बैठक साउन १३ गते ओलीले एक पक्षीय रुपमा स्थगित गरेपछि कहिले बस्ने भन्ने नै अनिश्चित छ ।

प्रतिक्रिया दिनुहोस्