Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


मिडिया विधेयकविरुद्धको आन्दोलन असफल भए नेपाली मिडिया नै धरासायी हुने चेतावनी


0
Shares

भक्तपुर । नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले मिडिया विधेयकविरुद्धको आन्दोलन असफल भए मिडिया धरासायी हुने बताएका छन् ।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको सञ्चार स्वनियमन विषयक अन्तर्क्रियामा महासचिव बिष्टले समाचार लेखेकै भरमा पत्रकाकारले भोग्नु पर्ने आर्थिक र जेल सजायको व्यवस्थासहित सरकारले ल्याएको विधेयकले पूर्णता पाए नेपालमा सञ्चार जगतको अस्तित्व नै समाप्त हुने बताएका हुन् ।

सरकारले कुत्सित मानसिकताका साथ ल्याएको विधेयकले सरकारको प्रशंसामा मात्र पत्रकारलाई सीमित राख्ने जिकिर गर्दै उनले आलोचना गर्नेहरुका लागि जेल र आर्थिक सजायको सदा खतरा रहने बताए ।

पत्रकार जगतमा देखा परेको गलत प्रकृतिलाई नियन्त्रण गर्दै शुद्धिकरण गर्न पत्रकार महासंघ लागि परेको भन्दै उनले हाल विधेयकका विरुद्धमा महासंघ लागेकाले न्यूनतमा पारिश्रमिकको बिषय केही समय ओझलमा परेको बताए । उनले पत्रकारहरुको जारी अन्दोलन स्वतन्त्र पत्रकारिता र अभिब्यक्ति स्वतन्त्रताको पक्षमा भएको प्रष्ट पारे ।

महासंघका कोषाध्यक्ष राजेश मिश्रले पत्रकारहरुले स्वनियमन गर्दै पत्रकारिताको धर्म निर्वाह गर्नु पर्नेमा जोड दिँदै १०० बुँदे स्वनियमन कार्यतालिकाबारे जानकारी दिए ।

कार्यक्रममा रफत सञ्चार क्लबका अध्यक्ष सुशील बन्धु थापाले कतै पत्रकारले तलब नपाएर अर्थिक अभाव बेहोर्नु परेको, कतै रातारात महल ठड्याउनेहरु पनि भएकाले पत्रकारको सम्पत्ति शुद्धिकरण गरिनु पर्ने बताए ।

कार्यक्रमा नेपाल प्रेस संगठनका केन्द्रीय सदस्य सोम शर्मा बजगाई, नेपाल पत्रकार महासंघ भक्तपुरका पूर्व अध्यक्ष नारायण सुन्दर किलम्बु, पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले सरकारले मिडिया विधेयक संचार क्षेत्रमा अंकुश लाउन ल्याएको र यसले नेपालीको वाक स्वतन्त्रताको हनन् गरेको आरोप लगाए ।