जोर–बिजोरका कारण काठमाडौंमा सवारी–साधनको चाप घट्यो • Image Khabar Image Khabar


जोर–बिजोरका कारण काठमाडौंमा सवारी–साधनको चाप घट्यो


Imagekhabar
२४ श्रावण २०७७, शनिबार १५:४३

जोर–बिजोरका कारण काठमाडौंमा सवारी–साधनको चाप घट्यो

काठमाडौं, साउन २४ । कोरोना संक्रमणको दर बढ्न थालेपछि सरकारले लागू गरेको जोर–बिजोर प्रणालीका कारण काठमाडौं उपत्यकामा सवारी चाप कम देखिएको छ ।

जोर–बिजोर प्रणालीमा सवारी सञ्चालन, संक्रमणको बढ्दो जोखिम र अत्यावश्यकबाहेकका सेवाहरु बन्द भएका कारण सवारीको चाप कम देखिएको हो ।

पछिल्लो केही दिनयता उपत्यकामा संक्रमणको दर बढ्न थालेपछि सरकारले सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली सुरु गरेको थियो ।

शुक्रबारमात्रै उपत्यकाभित्रका तीनओटै जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यकबाहेकका सेवाहरु तत्कालका लागि बन्द गर्ने निर्णय गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता वितरण, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरणलगायतका सेवाहरु तत्कालका लागि बन्द भएका छन् ।

प्रशासन कार्यालयहरुले अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीहरुलाई अनिवार्यरुपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्नपनि आग्रह गरेको छ ।

शुक्रबार नै उपत्यकामा अहिलेसम्मकै बढी १२४ जनामा कोरोनाभाइरस पुष्टि भएको थियो ।

असार २६ गतेबाट उपत्यकालगायत देशभरि जिल्लाभित्रमात्रै सवारी सञ्चालन गर्ने निर्णय सरकारले गरेको थियो ।

सरकारले आवश्यक मापदण्ड पूरा गरी सवारी सञ्चालन गर्न निर्देशन दिएपछि अधिकांश सार्वजनिक सवारी–साधनले स्यानिटाइजर प्रयोग नगरेको पाइएको छ ।

मास्क प्रयोग गरेको भएपनि स्यानिटाइजरको प्रयोग नगर्ने र बसमा दूरी कायम नगरिकन यात्रुलाई राख्ने गरेको पाइएको छ ।

शनिबार अरु दिनको तुलनामा उपत्यकाका सडकहरुमा न्यून मात्रामा सवारी चलेका छन् ।

प्रतिक्रिया दिनुहोस्