Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


धर्म, संस्कृतिको संरक्षण चुनौतीपूर्ण बन्दैछ : पूर्वराष्ट्रपति


0
Shares

                                                 फाइल तस्वीर

काठमाडौं, जेठ १९ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले पछिल्लो समय विभिन्न संघसंस्थाले हाम्रो धर्म, संस्कृतिमाथि आक्रमण गरिरहेकाले तीनै तहका सरकारले त्यस्ता संगठनलाई दण्डित गर्नुपर्ने बताएका छन् ।

नारायणस्थान देवस्थल उपभोक्ता समिति, ॐकार परिवार नेपाललगायत संस्थाद्वारा आयोजित ‘श्रीमद्भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ’ को शुभारम्भ गर्दै उनले संविधानले धर्म परिवर्तनलाई छुट नदिएको भए पनि गरीबीका कारण देखाएर विदेशीले धर्म परिवर्तन गरिरहेकामा चिन्ता व्यक्त गरे ।

डा यादवले प्राचीन संस्कृतिका आधारमा बनेका हाम्रा परम्परा, इतिहासको संरक्षण गरी तत्कालीन सभ्यताको अध्ययन गर्न सकिने बताए । विभिन्न जाति, संस्कृति र धर्मले सजिएको समाजमा अहिले एकताको खाँचो औँल्याउँदै उनले भने, ‘हिमालको काखमा रहेको नेपालमा सदियौँदेखि हिन्दू, बौद्ध र किरात धर्मको प्रभाव छ, यिनका संस्कृति र इतिहासलाई संरक्षण गर्नुपर्छ ।’

हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै नागरिकको भावनात्मक एकतालाई सम्बोधन गर्नसकेमा मात्र देशको राष्ट्रियता बलियो हुने उनको भनाइ थियो ।

डा यादवले जैविक विविधतायुक्त नेपालमा रहेका विभिन्न प्राकृतिक, स्रोत साधनको उपयोग गरी राष्ट्रलाई समृद्ध बनाउन सकिने बताए ।

उनले चार दशकअघिसम्म धान निर्यात गर्ने प्रमुख राष्ट्रका रुपमा रहेको नेपालमा प्रकृतिमाथि भइरहेको दोहनले उपभोग्य वस्तुको आयात बढ्दै गएकामा चिन्ता व्यक्त गरे । चुरे क्षेत्रको संरक्षणमा सबै संवेदनशील हुनुपर्नेमा पनि पूर्वराष्ट्रपति डा यादवको जोड थियो । (रासस)