८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


विश्वकप फुटबलः तेस्रो स्थानका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै


0
Shares

काठमाडौं, असार ३० । रुसमा जारी विश्वकप फुटबलको तेस्रो स्थानको प्लेअफका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दैछन् ।

नेपाली समयअनुसार आज साँझ पौने ८ बजे सेन्टर पिटर्सबर्ग रंगशालामा दुई टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

मंगलबार भएको खेलमा बेल्जियम फ्रान्ससँग पराजित भएपछि फाइनल प्रवेश गर्न सकेको थिएन भने बुधबार भएको खेलमा क्रोएसियासँग पराजित भएपछि इङ्ल्यान्डले पनि तेस्रो स्थानका लागि बेल्जियमसँगको भेट निश्चित गरेको हो ।

बेल्जियम दोस्रोपटक तेस्रो स्थानको प्लेअफ खेल्दैछ । पछिल्लोपटक मेम्सिकोमा भएको सन् १९८६ को विश्वकपमा बेल्जियम फ्रान्ससँग अतिरिक्त समयमा ४–२ ले पराजित भएको थियो ।

इङ्ल्यान्ड पनि दोस्रोपटक तेस्रो स्थानका लागि खेल्दैछ । सन् १९९० मा आयोजक इटालीसँग २–१ ले पराजित हुँदै इङ्ल्यान्ड चौथो स्थानमा समेटिएको थियो ।

बेल्जियम र इङ्ल्यान्डले एकापसमा २२ पटक खेलेका छन् । दुई टोलीबीच पहिलो खेल ९७ वर्षअघि ब्रसेल्समा भएको थियो । उक्त खेलमा पाहुना टोली २–० ले विजयी भएको थियो ।

त्यसयता इङ्ल्यान्डले १४ खेल जितेको छ भने बेल्जियमले दुई जित दर्ता गरेको छ ।

विश्वकपमा भने दुई टोलीबीच तीनपटक खेल भएको छ । सन् १९५४ मा भएको खेल ४–४ को बराबरीमा सकिएको थियो ।

सन् १९९० मा भने इङ्ल्यान्ड २–१ ले विजयी भएको थियो ।

जारी विश्वकपमा एउटै समूहमा परेका यी दुई टोलीबीचको समूह चरणको खेलमा भने बेल्जियमले जित हात पारेको थियो ।

समूह चरणको नतिजा दोहोर्‍याउने लक्ष्यका साथ बेल्जियम मैदानमा उत्रँदैछ भने हारको बदला लिने दाउ इङ्ल्यान्डको छ ।

विश्वकपको उपाधिका लागि भने आइतबार फ्रान्स र क्रोएसिया भिड्नेछन् ।