Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


आगामी तीन दिनसम्म मौसम परिवर्तन हुने


0
Shares

काठमाडौं, जेठ १६ । पूर्वमा बनेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी तीन दिनसम्म काठमाडौं उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबारदेखि पूर्वी क्षेत्रमा बनेको कमजोर न्यूनचापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले बदलीसँगै हल्का तथा  मध्यमखालको वर्षा हुने महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् ।

उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म रहने बताइएको छ ।

राति देशको पूर्वी क्षेत्र तथा मध्य र पश्चिमी पहाडी क्षेत्रमा सामान्य बदली रही बाँकी भागमा मौसम केही सफा भएपनि देशको पूर्वी भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको उक्त महाशाखाले जनाएको छ ।

शुक्रबार देशको पूर्वी तथा मध्य भागमा आंशिकदेखि सामान्य बदली रहनाका साथै पश्चिमी पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

शनिबार देशको पूर्वी भागमा सामान्य बदली हुने र बाँकी भागमा आंशिक बदली हुनेछ ।

त्यस्तै, पूर्वी तथा मध्य भागका केही स्थान र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम १६.५ डिग्री र अधिकतम् तापक्रम ३१.३ डिग्री सेल्सियस पुगेकोे छ ।

बिहीबार धनगढीको अधिकतम् तापक्रम ४०.८ डिग्री सेल्सियस पुगेको छ । रासस