
मस्को, असार २९ । विश्व फुटबल महासंघ (फिफा)ले इंग्ल्याण्ड र क्रोएसियाबीचको विश्वकप सेमिफाईनल खेलमा इंग्लिश समर्थकहरुको व्यवहारमाथि छानविन थालेको छ ।
मस्कोस्थित लुझ्निकी रंगशालामा भएको खेलका क्रममा बेलायती समर्थकहरुले विभेदकारी नारा लगाएको आरोपमाथि फिफाले छानविन थालेको हो । फिफाले बेलायती समर्थकहरुको विभेदकारी नारावाजीमाथि छानविन गर्न लिखित आरोप दर्ता भएकोसमेत जनाएको छ ।
तर उक्त आरोप कसले दर्ता गर्यो भन्नेबारे केही खुलाईएको छैन ।
उता विश्वकप खेलका क्रममा हालसम्म गरिएका सम्पूर्ण डोपिङ परीक्षणको परिणाम नेगेटिभ आएको छ । डोपिङ परीक्षणमा पोजिटिभ परिणाम आए खेलाडीले प्रतिबन्धित शक्तिबर्धक औषधि लिएको मानिन्छ ।
सन् २०१८ मामात्रै २ हजारभन्दा बढी खेलाडीको नमुना संकलन गरी परीक्षण गरिएको तर कुनै पनि खेलाडी डोपिङमा नपरेको फिफाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्