१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा, इङल्याण्ड निराश


0
Shares

काठमाडौं, असार २८ । इङ्ल्यान्डलाई हराउँदै क्रोएसिया रुसमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा गएराति भएको सेमिफाइनलमा इङ्ल्यान्ड अतिरिक्त समयमा २-१ ले पराजित भयो ।

खेलको पाँचौ मिनेटमै इङ्ल्यान्डले अग्रता लियो । डि एरिया नजिक पाएको फ्रि किक अवसरमा किरण ट्रिपियरले गोल गर्दै इङ्ल्यान्डलाई सुरुवाती अग्रता दिएका हुन् ।

दोस्रो हाफमा क्रोएसियाले एक गोल फर्कायो । ६८ औं मिनेटमा सिमे भ्रसाल्कोको पासमा ईभान पेरिसिचले गोल गर्दै टोलीलाई खेलमा फर्काएका हुन् ।

निर्धारित ९० मिनेटको समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुग्यो । थपिएको समय सकिन ११ मिनेट बाँकी छँदा क्रोएसियाले एक गोल थप्यो ।

ईभाँ पेरिसिचको पासमा भेट्रान स्ट्राईकर मारियो मान्डुकिचले उक्त गोल गरेका हुन् । मान्डुकिचको सोही गोल क्रोएसियालाई विश्वकपको फाइनलमा पु¥याउन निर्णायक बन्यो ।

पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाले अब उपाधिका लागि आइतबार फ्रान्सको सामना गर्नेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा बेल्जियमलाई हराउँदै फ्रान्स तेस्रो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।

पराजित टोली इङ्ल्यान्डले भने तेस्रो स्थानका लागि शनिबार बेल्जियमसँग खेल्नेछ ।