जागिर लगाइदिने भन्दै बंगलादेश पुर्‍याइएका ४६ नेपाली अलपत्र « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Tue Aug 9 2022


जागिर लगाइदिने भन्दै बंगलादेश पुर्‍याइएका ४६ नेपाली अलपत्र


0
Shares

काठमाडौं, साउन २२ । एक बंगलादेशी मानव तस्करले जागिर लगाइदिने प्रलोभनमा ढाका पुर्‍याएर ४६ नेपालीलाई अलपत्र छाडेका छन् ।

ती नेपालीलाई उद्धार गरी स्वदेश फर्काउने प्रयास भइरहेको बंगलादेशस्थित कार्यवाहक नेपाली राजदूत धनबहादुर ओलीलले जानकारी दिए ।

ओलीका अनुसार ढाकास्थित एक रेस्टुरेन्टमा जागिर लगाइदिने भन्दै ती बंगलादेशी दलालले उनीहरुलाई जेठ दोस्रो साता पर्यटक भिसामा त्यहाँ पुर्याएका थिए ।

सुरुमा पर्यटक भिसामा बंगलादेश पुर्याइएका उनीहरुको भिसाको म्याद सकिएपछि दलालले वर्किङ भिसा मिलाइदिने भन्दै फसाएपछि उनीहरु गैरकानुनी ढंगले बस्न बाध्य भएका थिए ।

ती बंगलादेशी मानव तस्करले जागिर लगाइदिने प्रलोभनमा ४६ नेपालीबाट ८० लाख रुपैयाँ उठाएको बताइएको छ ।

ठगिनेमा नेपालीबाट बिजनेस भिसा लिएर जानेहरुसमेत छन् । नेपालीलाई बिचल्ली पार्ने ती मानव तस्करलाई ढाका प्रहरीले पक्राउ गरेको छ । ती मानव तस्कर नेपाल आउजाउ गरेको समेत पाइएको छ ।

नयाँ वानेश्वसस्थित एक निजी स्वास्थ्य संस्थाको ‘फिजिसियन कन्सल्टेन्ट’ बाट लिएको परिचयपत्र ती दलालबाट ढाका प्रहरीले जफत गरेको छ ।

ढाका प्रहरीले उनीहरुको गैरकानुनी हैसियतबारे नेपाली दूतावासलाई जानकारी गराएपछि उनीहरुको उद्धार गरिएको थियो । उनीहरुलाई दूतावासकै रेखदेखमा ढाकामा राखिएको छ ।
-अन्नपूर्ण पोष्ट दैनिकबाट