लोडसेडिङ ७ घण्टामा झार्ने योजना प्रधानमन्त्रीलाई बुझाइदैं • Image Khabar Image Khabar


लोडसेडिङ ७ घण्टामा झार्ने योजना प्रधानमन्त्रीलाई बुझाइदैं


Imagekhabar
२७ श्रावण २०७३, बिहीबार १३:३१

लोडसेडिङ ७ घण्टामा झार्ने योजना प्रधानमन्त्रीलाई बुझाइदैं

काठमाडौं, साउन २७ । ऊर्जा मन्त्रालयले आगामी हिउँदमा लोडसेडिङ दैनिक सात घण्टामा सीमित गर्ने गरी कार्ययोजना बनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सबै मन्त्रालयलाई योजना ल्याउन निर्देशन दिएपछि ऊर्जाले पाँच बुँदामा यस्तो कार्ययोजना तयार गरेको हो । गत हिउँदमा दैनिक १२ घण्टासम्म लोडसेडिङ भएकोमा आगामी याममा सात घण्टासम्म झार्ने योजनासहितको पाँच बुँदे कार्ययोजना निर्माण गरिएको र बिहीबार प्रधानमन्त्रीलाई बुझाउन लागिएको मन्त्रालयले जनाएको छ ।

ऊर्जा सचिव सुमनप्रसाद शर्माले लोडसेडिङ न्यूनीकरणलाई प्राथमिकता दिएर कार्ययोजना निर्माण गरिएको जानकारी दिए ।

‘उपभोक्तालाई अन्धकारबाट मुक्ति दिने हाम्रो मुख्य प्राथमिकता हो, यसैलाई आधार बनाएर कार्ययोजना बनाएका छौं,’ उनले भने ।

उनका अनुसार लोडसेडिङ न्यूनीकरणसँगै ऊर्जामा स्वावलम्बन, ऊर्जा दक्षता अभिवृद्धि, कानुनी तथा संस्थागत संरचना निर्माण तथा सरकारले गत फागुनमा ल्याएको ऊर्जा संकटकाल कार्ययोजना कार्यान्वयनलाई योजनामा समेटिएको छ । –कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्