ओलीका मन्त्रीले ढाँटे जनता • Image Khabar Image Khabar


ओलीका मन्त्रीले ढाँटे जनता


Imagekhabar
३० श्रावण २०७३, आईतवार १४:२०

ओलीका मन्त्रीले ढाँटे जनता

काठमाडौं, साउन ३०। ‘म बनाउँछु मेरो धरहरा !’ । वैशाख १२, ०७२ को शक्तिशाली भूकम्पले ढलेको ऐतिहासिक धरहरा पुनर्निर्माण कुनै विदेशी दाताको पैसाले नगरी जनताकै लगानीमा गर्ने निर्णय गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारले जनस्तरमै प्रशंसा पायो ।

सोहीअनुसार तत्कालीन सरकारले सार्वजनिक आह्वान पनि गर्यो । जनताले यसलाई ऐतिहासिक अवसर माने र धमाधम धरहराको नाममा दान गर्न थाले । अहिलेसम्म यो कोषमा २ करोड २१ लाखभन्दा बढी रुपैयाँ जम्मा पनि भइसकेको छ ।

बिडम्बना त्यतिबेलै मन्त्रीपरिषद्ले गरेको धरहरा पुनर्निर्माणमा सबै मन्त्रीले एक महिनाको तलब दान गर्ने निर्णय भने उनीहरु आफैंले धोती लगाइदिए । स्वयं ओलीबाहेक कुनै मन्त्रीले उक्त कोषमा पैसा हालेनन् । सरकार ढल्यो, निर्णय अधुरै रह्यो ।

फागुन ४ गते धरहराको फेदमा आयोजित ‘ऐतिहासिक धरोहरा पुनर्निर्माण संकल्प’ कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले ‘म बनाउँछु मेरो धरहरा’ अभियान शुभारम्भ गरेका थिए । सोही साँझ बसेको मन्त्रिपरिषद् बैठकले अभियानका लागि मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब कोषलाई उपलब्ध गराउने निर्ण गरेको थियो ।

मन्त्रिपरिषद् निर्णयको दुईदिन पछि फागुन ६ गते पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माण कोषका नाममा राष्ट्रिय बाणिज्य बैंक थापाथली शाखामा खाता खोलेपछि विभिन्न संघ संस्था र व्यक्तिले रकम जम्मा गरिरहेका छन् ।
-खिलक बुढाथोकी, नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्