काठमाडौं, साउन ३२ । चिनियाँ जहाज उडाएर प्रशस्त आम्दानी गर्दै बजार हिस्सा ओगट्ने नेपाल वायु सेवा निगमको सपना कहिल्यै विपनामा परिणत नहुने ताजा घटनाबाट पुष्टि भएको छ ।
निगमसँग रहेको १७ सिट क्षमतायुक्त चिनियाँ जहाज उडाउने एकमात्र प्रशिक्षक पाइलटले अकस्मात राजीनामा दिएपछि राष्ट्रिय ध्वजावाहक निगम व्यवस्थापन अहिले ‘थाल खाउँ न भात खाऊँ’ को अवस्थामा पुगेको छ ।
झण्डै एक वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको ‘वाई १२ इ’ सिरिजको उक्त जहाजलाई लामो प्रयासपछि मर्मत गरी उड्न तयार बनाइएको थियो । त्यसपछि नियमित उडान तालिका सार्वजनिक गरेको निगम व्यवस्थापनका अधिकारीहरु अहिले त्यो जहाजका एकमात्र प्रशिक्षक पाइलट आङनुरी शेर्पाले राजीनामा दिएपछि रनभुल्लमा छन् । नहुनु पनि किन ? निगमले अमेरिका पठाएर दुई महिना तालिम दिलाएपछि शेर्पा ‘वाई १२ इ’ का प्रशिक्षक पाइलटका रुपमा उडान गर्न योग्य भएका थिए । तर, शेर्पाले नियमित उडान गर्नुअघि नै राजीनामा दिए ।
अब निगम व्यवस्थापनका लागि उक्त जहाज कसरी उडाउने भन्ने चिन्ताले घर गरेको छ ।
‘वाई १२ इ जहाजका एकमात्र प्रशिक्षक पाइलट आङनुरी शेर्पाको राजीनामा प्राप्त भएको छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले भने, ‘उनको राजीनामा स्वीकृत हुने प्रक्रियामा छ, राजीनामा दिएपछि जहाज उडाउँदिनँ भन्न त पाइयो तर संस्थालाई अप्ठेरो भयो ।’ –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्