भ्यागुतालाई भोज ! • Image Khabar Image Khabar


भ्यागुतालाई भोज !


Imagekhabar
३ भाद्र २०७३, शुक्रबार १३:२९

भ्यागुतालाई भोज !

काठमाडौं, भदौ ३ । सबैका हातमा किस्ती । तिनमा ठूल्ठूला पात । पातमाथि सजाइएका छन्, थरीथरी परिकार ।

गोलाकार पारेर काटिएका मुलाका चाना सिन्कोले घोचेर भातमा अड्याइएको छ । छरिता रोटीसँगै मौसमी तरकारी क्वाँटी र बोडी छुटाइएको छैन । रक्षाबन्धन धागो र सिन्दुर पनि त्यहीँ राखिएका छन् । छेवैमा धुवाइरहेको धूपले सुगन्ध फैलाइरहेछ ।

जनैपूर्णिमाका अवसरमा बिहीबार सबेरैदेखि मठमन्दिरमा भिड चुलिदैं जाँदा भक्तपुरका किसान भने यिनै सामाग्री बोकेर आफ्ना खेततिर लागे । अनि, आलीमा टुक्रुक्क बसेर ‘पाहुना’ डाक्न थाले ।

पाहुना कुनै विशिष्ट आफन्त वा नातागोता थिएनन् । यो सत्कार थियो भ्यागुतालाई ।

किसानले भ्यागुतालाई परिकार पस्किदिए । सामुन्ने नआए पनि तिनलाई रक्षाबन्धनको धागो दिए । सांकेतिक रुपमा सिन्दुर पहि¥याइदिए । अनि ऐना (भातमा गाडिएका मुलाका चाना) देखाइदिए ।

आफू हिँडेपछि भ्यागुताले खाने विश्वासमा उनीहरुको भाग त्यहीँ छाडिदिए ।

प्रकृतिपुजक किसान भ्यागुताले बालीनाली सपारिदिने विश्वासका गर्छन् । र, त्यही गुन तिर्न वर्षको एक दिन उनीहरुलाई भोज खुवाउँछन् । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्