
फाइल फोटो
काठमाडौं, भदौ ४ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना लागि मुलुकको पक्षमा केही महत्वपूर्ण काम गर्ने चुनौतीपूर्ण अवसर प्राप्त भएको बताएका छन् ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा शनिबार गोरखाका जौबारीको प्रतिनिधिमन्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा कुरा गर्दै उनले मुलुक र जनताका पक्षमा केही न केही गरौं भन्ने सोंच रहेको र त्यसलाई पूरा गर्न सबैको साथ तथा सहयोग जरुरी रहेको बताए ।
प्रधानमन्त्री दाहालले भने–‘राजनीतिक परिस्थिति एकदमै चुनौतीपूर्ण छ । जनताको आकांक्षा धेरै छन् । आफू र आफ्नो पार्टीका लागि चुनौतीपूर्ण अवसर प्राप्त भएको छ । यसबाट केही परिणाममुखी काम गर्नेछु भन्ने विश्वास पनि पैदा भएको छ ।’
उनले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण, शान्ति–प्रक्रियाका बाँकी काम पूरा गरेर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनुपर्नेमा जोड दिएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए ।
प्रधानमन्त्रीले गोरखा जिल्ला ऐतिहासिक र परिवर्तनको आन्दोलनका दृष्टिले पनि निकै महत्वपूर्ण भन्दै निश्चल मनले शुभकामना दिएकामा सबैलाई धन्यवाद दिए ।
सो अवसरमा गोरखा जौबारीका प्रतिनिधिमन्डलले गोरखा जिल्लाको समग्र विकास र योजनाकाबारेमा प्रधानमन्त्री दाहालसँग जानकारी माग गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्