नेपाली क्रिकेटको समस्या समाधान गर्न आइसीसी प्रमुख आउँदै • Image Khabar Image Khabar


नेपाली क्रिकेटको समस्या समाधान गर्न आइसीसी प्रमुख आउँदै


Imagekhabar
१६ भाद्र २०७३, बिहीबार १३:४६

नेपाली क्रिकेटको समस्या समाधान गर्न आइसीसी प्रमुख आउँदै

काठमाडौं, भदौ १६ । पदाधिकारीबीचको आन्तरिक झगडा, दुई कार्य समितिबीचको आधिकारिकता विवाद पछिल्लो पाँच महिनायता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनलगायत कारणले लामो समयदेखि अन्यौलग्रस्त नेपाली क्रिकेटले चाँडै निकास पाउने सम्भावना देखिएको छ ।

घरेलु खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद (राखेप)को पहलमा नेपाली क्रिकेटको समस्या समाधानका लागि अन्तर्राष्ट्रिय जिम्मेवार निकाय आईसीसी गम्भीर देखिएको छ ।

त्यसका लागि आईसीसीको उच्चस्तरीय टोली आगामी आइतबार नेपाल आउने भएको छ । राखेपले गरेको पहलपछि आईसीसीका प्रमुख कार्यकारी डेभिड रिचर्डसनसहितको तीन सदस्यीय टोली नेपाल आउन लागेको हो ।

आईसीसीले राखेपलाई पठाएको पछिल्लो पत्रअनुसार आईसीसी टोलीमा प्रमुख कार्यकारी रिचर्डसनसँगै आईसीसीमा एसोसिएट्स सदस्य राष्ट्रहरूका अध्यक्ष इमरान ख्वाजा र आईसीसी अधिकारी अमर शेख छन् ।

टोलीले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल र खेलकुदमन्त्री दलजित श्रीपाइलीसँग भेट गर्ने इच्छा व्यक्त गरेको छ । रिचर्डसनले राखेपका सदस्यसचिव केशवकुमार विष्टलाई सम्बोधन गरी लेखेको पत्रमा प्रधानमन्त्रीसँगको भेट लगत्तै एउटा कार्यदल गठन गर्ने प्रस्ताव गरेका छन् । यो कार्यदलले क्यानको जारी ऐनको समीक्षा गरी नयाँ ऐनको मस्यौदा गर्नेछ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्