१२ चैत्र २०७९, आइतबार | Sun Mar 26 2023


२०७५ सालमा जसलाई रजतपटले गुमायो


0
Shares

दीपेन्द्र अधिकारी (इमेज) 

काठमाडौं, चैत २९ । रजतपटमा २०७५ सालमा केही नयाँ अनुहार भित्रिएका छन् भने केही अनुहार यस क्षेत्रबाट सधैंका लागि बिदा भएका छन् । २०७५ मा रजतपटले सुखद् र दुःखद् दुवै परिणाम व्यहोर्‍यो ।

वरिष्ठ कलाकार भीमबहादुर थापा, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, वरिष्ठ कलाकार गणेश मुनाल, वरिष्ठ कलाकार बीएस राणालाई रजतपटले गुमायो ।

भीमबहादुर थापा

वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन ९२ वर्षको उमेरमा २०७५ जेठ २९ गते मंगलबार मैतीदेवीस्थित आफ्नै निवासमा भयो । स्व. थापा निर्देशक दीपाश्री निरौलाका ‘धर्मपिता’समेत हुन् ।

सेनानी थापाको जन्म वि.सं. १९८३ साल असार १३ गते खोटाङ जिल्लाको रावा, लामिडाँडामा भएको थियो ।

उनी सन् १९४२ मा ब्रिटिस आर्मीमा भर्ना भइ सन् १९४५ को दोस्रो विश्वयुद्धमासमेत लडेका थिए ।

नेपाली सेनाको मेजरसम्मको पदमा पुगेका स्व. थापाले उमेरहदका कारण वि.सं २०३९ सालमा जागिरबाट अवकाश पाएका थिए । उनलाई नेपाली सेनाले सलामी दिँदै सम्मान प्रकट गरेको थियो ।

थापाले ब्रिटिस र नेपाली सेनामा गरी १४ ओटा मानपदक, गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्टजस्ता सम्मान प्राप्त गरेका थिए ।

वि.सं. २०४१ सालमा निर्माण भएको फिल्म ‘के घर के डेरा’बाट नेपाली चलचित्रमा अभिनय थालेका उनले ६७ ओटा चलचित्र, १५० बढी टेलिफिल्म र ५० भन्दा बढी विज्ञापनमा काम गरेका थिए भने आधा दर्जनभन्दा बढी गीतमा आवाज दिएका थिए ।

रामकेशर बोगटी

२०७५ असोज २३ गते मंगलबार चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको दुर्घटनामा परी निधन भयो । ५८ वर्षीय बोगटीको बिजुलीको पोलले थिचेर निधन भएको थियो ।

टीकाथलीस्थित आफ्नो घरबाट निस्किएका बोगटी घरनजिकै गाडी रोकेर रुख काटेको हेर्न पुगेका थिए । विपरीत दिशातर्फ रुख ढल्दा छेउमै रहेको ट्रान्समिटरसहितको बिजुलीको पोलमा रुख ढल्यो । रुखलाई धान्न नसकेपछि पोल पनि ढल्यो ।

ढलेको पोल र ट्रान्समिटरले टाउको र पेटमा थिचेर घाइते भएका उनको उपचारका लागि बीएन्डबी अस्पतालमा लैजाँदै गर्दा बाटैमा निधन भएको थियो ।

गणेश मुनाल

२०७५ सालमा रजतपटले गुमाएको अर्का वरिष्ठ कलाकार हुन्, स्व. गणेश मुनाल । उनको २०७५ माघ ७ गते सोमबार उपचारकाक्रममा निधन भएको थियो । दमका कारण लमो समयदेखि अस्वस्थ उनी वीर अस्पतालमा उपचाररत् थिए ।

उनले ‘लभ लभ लभ’, ‘एक पल’, ‘सेतो बाघ’, ‘शिरीषको फूल’, ‘दिदीभाइ’, ‘मिस्टर डन’, ‘गोपी’लगायतका चलचित्रमा अभिनय गरेका थिए ।

उनले दीपक–दीपाको हास्यटेलिशृंखला ‘तीतो सत्य’मा लामो समय अभिनय गरेका थिए भने अरु थुप्रै टेलिसिरियलमा पनि अभिनय गरेका थिए ।

बीएस राणा

रजतपटले २०७५ माघ १८ गते शुक्रबार वरिष्ठ कलाकार बीएस राणालाई गुमाउन पुग्यो ।

श्वास–प्रश्वासमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको थियो । उनको ७८ वर्षको उमेरमा अस्पतालमा नै निधन भएको थियो ।

वि.सं. २०४१ सालमा सिनेमा ‘अन्याय’ बाट सिनेमामा ‘डेब्यु’ गरेका उनले ‘दक्षिणा’, ‘कोसेली’, ‘चिनो’, ‘दुई थोपा आँशु’, ‘नेपाली बाबु’, ‘करोडपति’, ‘दर्पणछाया २’, ‘सेतो बाघ’, ‘हवल्दार सुन्तली’, ‘काफल पाक्यो’, ‘सम्बोधन’, ‘साथी म तिम्रो’, ‘आई एम सरी’, ‘कसले चोर्‍यो मेरो मन’, ‘दासढुंगा’, ‘वसन्ती’लगायत १०० भन्दा बढी फिल्महरुमा काम गरेका छन् । उनले केही टेलिसिरियलहरुमा पनि अभिनय गरेका थिए ।