
काठमाडौं, भदौ २३ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण दुई देशबीच सम्बन्ध सुधारमै केन्द्रीत हुने बताएका छन् ।
हामीसँग आज कुरा गर्दै परराष्ट्रमन्त्री डा. महतले नेपाल र भारतबीचको सम्बन्धलाई उच्चस्तरको बनाउन प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्न लाग्नुभएको बताएका हुन् ।
उनले भ्रमणको सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै भ्रमणका क्रममा विकास निर्माण र सम्बन्ध विस्तारलगायतका विषयमा छलफल हुने जानकारी दिए ।
हुलाकी राजमार्ग छिटो बनाउने, बाढीका कारण नेपालमा धेरै भू–भाग डुवानमा पर्ने गरेको समस्या समाधानका लागि संयुक्त तटबन्ध निर्माण गर्ने र पञ्चेश्वर जलविद्युत् आयोजनाको काम चाँडो सम्पन्न गर्नेलगायतका विषयमा पनि छलफल हुने उनले जानकारी दिए ।
प्रधानमन्त्री दाहाल यही भदौ ३० गतेदेखि असोज २ गतेसम्म भारत भ्रमणमा जाँदै छन् ।
यसैबीच परराष्ट्रमन्त्री डा. महतले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको मिति तय नै नभएको सन्दर्भमा भ्रमण नै स्थगित भएको भन्नु गलत भएको बताए ।
मन्त्री डा. महतले राष्ट्रपति जिनपिङको भ्रमणका लागि दुई पक्षबीच छलफल भइरहेको र उपयुक्त समयमा उनले नेपाल भ्रमण गर्ने जानकारी चिनियाँ पक्षले दिएको बताए ।
चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि नेपाली पक्षले तयारी गरिरहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्