Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


नेपालीलाई भारतीयको ज्यादतीः हातमा लालपुर्जा, जग्गा भारतीयको कब्जामा


0
Shares

-दुर्गा उपाध्याय/ईमेज

कञ्चनपुर । कञ्चनपुरको सीमा क्षेत्र पुनर्वासमा बसोबास गर्ने नेपाली नागरिक वर्षौं देखि भारतीयको ज्यादतीबाट पीडित बन्दै आएका छन् ।

आफ्नै जमिन भए पनि न भारतीयले भोगचलन गर्न दिएका छन् न त सरकारले नै उनीहरुको जमिन फिर्ता गर्ने पहल गरेको छ ।

कञ्चनपुरको पुनर्वासस्थित सीमाक्षेत्रका स्थानीयले आफ्नो जमिन भोगचलन गर्न नपाएको झण्डै दुई दशक हुन थाल्यो ।

हातमा जग्गाधनी लालपुर्जा छ तर भोगचलन गर्न भारतीय सुरक्षाकर्मीको त्रास छ ।

आफ्नै जग्गामा अर्कैको हालीमुहाली भए पनि वर्षेनी सरकारलाई कर भने उनीहरुले तिर्दै आएका छन् ।

सरकारले सीमा विवाद समाधान गरेर आफूहरुलाई न्याय छिट्टै दिलाइदिओस् भन्ने स्थानीयको अपेक्षा छ ।

२०५८ सालमा यहाँका किसानले रोपेको धान भारतीय सुरक्षाकर्मीले काटेर लगेका थिए ।

भारतीयहरुले सो जग्गा आफ्नो भएको दाबीसमेत गरेका थिए । हातमा लालपुर्जा रहेको जमिन भारतीय पक्षले दाबी गरेपछि स्थानीय झनै अचम्मित बनेका छन् ।

२०३१ सालदेखि बसोबास गर्दै आएका स्थानीयले भारतीयहरुको रवैया पटकपटक सहँदै आइरहेका छन् ।

भारतीय पक्षको हेपाहा प्रवृत्तिको विरोधमा सरकारको कुनै पनि तहले आवाज उठाउन नसकेको स्थानीय करण सुनारको गुनासो छ ।

करन सुनारजस्तै, बेलौरी नगरपालिका १० का कृष्णदत्त पन्तलाई पनि गत बैशाखमा एसएसबीका जवानले आफ्नै जमिन जोत्न रोकेका थिए ।

यता, संयुक्त सर्भे टोलीले नयाँ स्तम्भ नबनाएसम्म नेपालीलाई भोगचलन गर्न रोकेको भारतीय पक्षले एक महिनाअघि मात्रै पुनर्वास १० डोकेबजारमा भने आफैले सीमा क्षेत्रमै ट्रेन्च खन्ने काम गरेको छ ।

भारतीयको अपमान सहँदै आएका स्थानीयलाई न्याय दिन सरकारले सशक्त पहलकदमी गर्न आवश्यक छ ।