३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


डा. गोविन्द केसीको माग सम्बोधन गर्न गाह्रो : नेता नेपाल


0
Shares

विराटनगर, असार २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आचारसंहिताविपरीत तत्कालीन सरकारले गरेको निर्णय वर्तमान सरकारले खारेज गर्नु उचित भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार सन्चारकर्मीसँग कुराकानी गर्दै उनले भने–‘तत्कालीन सरकारले गरेको निर्णय खारेज गर्ने वर्तमान सरकारको निर्णयबाट मुलुकमा प्रणालीको विकास सुरु भएको छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले संक्रमणकालमा गरिने निर्णय सहमति र सहकार्यमा नगरिएकाले बहुमतको वर्तमान निर्वाचित सरकारले खारेज गरेको उल्लेख गर्दै डा. गोविन्द केसीको भूमिका र उठाएको माग सम्बोधन गर्न गाह्रो भएको बताए ।

‘राष्ट्रिय नेता मनमोहनको नाममा स्थापना भएका संस्था बन्द गर्ने र करोडौं रुपैयाँ खर्चिएर नेपाली विद्यार्थीलाई विदेश अध्ययन गर्न पठाउने उद्देश्य राम्रो होइन’ भन्दै उनले अनशन त्यागेर शिक्षा र स्वास्थ्यका समस्या समाधान गर्न सरकारसँग वार्तामा आउन उनलाई आग्रह गरे ।

नेता नेपालले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण रोक्न वर्तमान सरकार कटिबद्ध रहेको चर्चा गर्दै जनताको शिक्षा र स्वास्थ्यको दायित्व सरकारले लिने बताए ।

क्षणिक आवेशमा नआउन र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न नेपाली कांग्रेसलाई आग्रह गर्दै उनले प्रतिपक्षले वर्तमान सरकारलाई कार्य गर्न नदिने गरी गरिएको निर्णयले उल्टै नेपाली कांग्रेसप्रति नै जनताले आरोप लगाउने धारणा व्यक्त गरे ।

नेता नेपालले मुलुकका गरिबी, बेरोजगारी, अभाव र पछौटेपनजस्ता समस्या समाधान गर्न सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य गरी समृद्ध नेपाल, सुखी नेपाली बनाउनेतर्फ लाग्न पनि कांग्रेसलाई आग्रह गरे ।

जनताको विश्वास जित्न कार्यकर्तालाई सुझाव

नेता नेपालले पार्टीका कार्यकर्तालाई जनताको मन र विश्वास जित्नका लागि अग्रसर हुन सुझाव दिएका छन् ।

विराटनगरस्थित पार्टी कार्यालयमा शुक्रबार पार्टीका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफ्नो भूमिकालाई कुशलता र क्षमतालाई सदुपयोग गरेर जनताको समस्यालाई समाधान गर्न इमान्दारीपूर्वक लाग्नुपर्नेमा जोड दिए ।

नेता नेपालले दुई विशाल पार्टीको एकताबाट सिंगो मुलुकका साथै अन्तर्राष्ट्रिय क्षेत्रसमेत तरंगित एवं उत्साहित भएको उल्लेख गर्दै मुलुक सन्चालनको जिम्मेवारीसमेत अहिले पार्टीको काँधमाथि आएकाले कार्यकर्ताको दायित्व अझै बढेको बताए ।

पार्टी एकतापछि सांगठनिक संरचनाका काम केन्द्रमा पनि पूर्णरुपमा हुन नपाएको र तीन महिनासम्ममा प्रदेशलगायत जिल्लास्तर संगठनका कार्य पूरा हुने विश्वास व्यक्त गर्दै उनले समृद्ध मुलुक निर्माणका लागि सबै अग्रसर हुनुपर्ने बताए । रासस