
कुमार चौलागाइँ (रासस)
काठमाडौं, असार २० । रुसमा जारी विश्वकपको प्रिक्वार्टरफाइनलका खेलहरू मंगलबार राति समाप्त भएसँगै प्रतियोगिताको रोमान्च उत्कर्षमा पुगेको छ ।
रुस विश्वकपको अन्तिम आठसम्म आइपुग्दा विश्वकपका दाबेदार मानिएका जर्मनी, अर्जेन्टिना, पोर्चुगल, स्पेन, मेक्सिकोजस्ता टोलीहरू घर फर्किए भने थुप्रै उत्कृष्ट खेलाडीको प्रदर्शन निराशाजनक रह्यो ।
प्रतियोगितामा कम चर्चित खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्ना टिमलाई अघि बढाएका छन् ।
अघिल्लो विजेता जर्मनी समूह चरणको अन्तिम खेलमा मेक्सिकोसँग पराजित हुँदै घर फर्कन बाध्य भयो भने उपविजेता अर्जेन्टिना प्रिक्वार्टरफाइलनमा फ्रान्ससँग पराजित हुँदै घर फर्किएको छ ।
त्यसैगरी, स्पेन आयोजक रुससँग, पोर्चुगल उरुग्वेसँग र मेक्सिको ब्राजिलसँग पराजित हुँदै प्रिक्वार्टरफाइलनबाट घर फर्किए ।
प्रतियोगितामा पाँचपटकको विजेता ब्राजिल र एकपटकको विजेता फ्रान्सको प्रदर्शन भने उत्कृष्ट रहँदै आएको छ ।
प्रतियोगितामा उत्कृष्ट मानिएका अर्जेन्टिनाका लियोनल मेससी, इजिप्टका मोहम्द सलाह, कोलम्बियाका जेम्स रोड्रिगेज, जर्मनीका थोमम मुलर, स्पेनका मार्को एसेन्सियो र आन्द्रे इनिस्टाजस्ता खेलाडीको प्रदर्शन निराशाजनक देखियो ।
प्रतियोगितामा स्वीडेनका भिक्टर लिन्डेलोफ, रुसका गोलकिपर इगोर अकिनफेभ, रुसकै राइटब्याक मारियो फर्नान्डेज, उरुग्वेका डियगो लाक्साल्ट, फ्रान्सका पाउल पोग्बा, जापानका ताकासी इनुई, फ्रान्सका कलियन एमबाप्पे, उरुग्वेका एडिन्सन काभानी, ब्राजिलका नेयमार जुनियरको प्रदर्शन सबैका लागि आकर्षक रह्यो ।
चर्चा ‘गोल्डेन बुट’को
विश्वकपमा क्वार्टरफाइनल प्रवेश गर्ने ८ टोलीको टुंगो लागेसँगै गोल्डेन बुटको चर्चा हुन थालेको छ ।
विश्वकपको उपाधि कसले जित्ने भन्ने चासो जति छ, गोल्डेन बुटबारे पनि उत्तिकै उत्सुकता देखिन्छ ।
गोल्डेन बुटको दौडमा यसपटक इंग्ल्यान्डका कप्तान ह्यारी केन अगाडि देखिएका छन् । जारी विश्वकपमा उनले ६ गोल गरिसकेका छन् । ६ गोल गरेका केनले तीन गोल भने पेनाल्टीमार्फत् गरेका हुन् ।
गोल्डेन बुटको दौडमा उनलाई बेल्जियमका रोमेलु लुकाकुले पच्छ्याइरहेका छन् । उनको गोल संख्या ४ छ ।
समूह चरणको पहिलो खेलमा स्पनेविरुद्ध ह्याट्रिक गरेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि ४ गोल नै गरेका छन् । पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेकाले ‘गोल्डेन बुट’मा उनको कुनै चुनौती छैन ।
त्यस्तै, ३ गोल गरेका उरुग्वेका एडिन्सन काभानी, रुसका डेनिस चेरिसेभ र आर्टेम डिजुबा, फ्रान्सका किलियन एमबाप्पेको पनि सम्भावना अझै सकिएको छैन ।
यही असार २२ गतेदेखि क्वार्टरफाइनलका खेलहरू हुँदैछन् । पहिलो खेलमा शुक्रबार साँझ ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ । त्यही दिन राति ११ः४५ बजे पाँचपटकको विजेता रहेको ब्राजिलले बेल्जियमसँग खेल्नेछ ।
त्यसैगरी, शनिबार साँझ ७ः४५ बजे स्वीडेन र इंग्ल्यान्डबीच प्रतिपर्धा हुनेछ । क्वार्टरफाइनलको अन्तिम खेलमा आयोजक रुसले क्रोएसियाको सामना गर्नेछ ।
क्वार्टरफाइनल पुग्ने ८ टोलीमध्ये चारओटा विश्वविजेता बनिसकेका टोली हुन् भने चारओटाले प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् ।
ब्राजिल सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ को विजेता हो । उरुग्वेले पहिलो विश्वकप सन् १९३० र १९५०, फ्रान्स सन् १९९८ र इंग्ल्यान्ड सन् १९६६ को विजेता हुन् ।
त्यसैगरी, क्वार्टरफाइनलमा पुगेका बेल्जियम, क्रोएसिया, स्वीडेन र रुसमध्ये अहिलेसम्म स्वीडेन १९५८ मा ब्राजिलसँग फाइनमा पराजित भएको हो । आयोजक रुस पहिलोपटक क्वार्टरफाइनल पुगेको हो । बेल्जिम सेमिफाइनसम्म पुगेको टोली हो ।
प्रतियोगितामा नवप्रवेशी पानामा र आइसल्यान्डले खासै प्रदर्शन गर्न सकेनन् ।
आइसल्यान्डले पहिलो खेलमा दुईपटकको विश्वविजेता अर्जेन्टिनालाई बराबरीमा रोक्न सफल भएपनि पछिल्ला दुई खेल क्रमशः नाइजेरिया र क्रोएसियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । पानामाले बेल्जियम, इंग्ल्यान्ड र ट्युनिसियासँग पराजित हुँदै घर फर्कियो ।
विश्वकप २०१८ मा चम्किएका खेलाडी
नेयमार, ब्राजिल
नेयमारको खेलकोभन्दा पनि ‘अभिनय’को चर्चा धेरै भयो । तर, फ्रेन्च क्लब पीएसजीका यी फरवार्डले मेक्सिकोविरुद्ध उत्कृष्ट खेले ।
लियोनल मेसी र किस्ट्रियानो रोनाल्डो घर फर्कंदै गर्दा उनले भने आफ्नो टिमलाई क्वार्टरफाइनलमा पुर्याए । उनले गरेको एक गोल र पासको मद्दतले नै ब्राजिलले मेक्सिकोलाई २–० ले हराउन सफल भयो ।
भिक्टर लिन्डेलोफ, स्वीडेन
स्वीडेनका भिक्टर लिन्डेलोफले आन्द्रेस ग्रान्भिस्तको ‘पार्टनरसीप’मा उत्कृष्ट खेल खेल्दै स्वीडेनलाई गोल खानबाट बचाए । उनी चम्किएपछि स्वीडेनले मंगलबार राति स्वीट्जरल्यान्डलाई एक गोलले हरायो र क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो ।
डियगो गोडिन, उरुग्वे
उरुग्वेका लागि बलियो खम्बाकारुपमा प्रस्तुत् हुँदै आएका डियगो गोडिन ‘सेन्टरब्याक पोजिसन’बाट खेल्दै आएका छन् । उनले क्रिस्टियानो रोनाल्डो र पोर्चुगलको आक्रमणलाई रोक्न सफल भए ।
खेलमा उरुग्वेले दुई गोल गर्दा पोर्चुगलले एक गोलमात्रै गर्न सक्यो र प्रतियोगिताबाट बाहिरियो ।
डियगो लाक्साल्ट, उरुग्वे
उरुग्वेका ‘लेफ्ट ब्याक’ डिएगो लाक्साल्टले विश्वकप २०१८ मा आफ्नो उत्कृष्ट प्रदर्शन कायमै राखेका छन् ।
पोर्चुगलसँगको खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका उनले फरवार्ड एडिसन काभानी र लुइस सुआरेजलाई उत्कृष्ट पासहरू मिलाइदिएका थिए ।
पाउल पोग्बा, फ्रान्स
फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले पराजित गर्दा पोग्बा फ्रान्सको खेलको मुटुकारुपमा प्रस्तुत् भएका थिए । तर, उनको खासै चर्चा भएन । मिडफिल्ड सम्हाल्दै आक्रमणका लागि राम्रो बनाउँदै उनले एमबाप्पे, ग्रीजम्यान र जिराउडलाई उत्कृष्ट पासहरू मिलाइदिएका थिए ।
इगोर अकिनफेभ (गोलकिप्पर), रुस
प्रि क्वार्टरफाइनलमा स्पेनका कोके र इयागो आसपासको पेनाल्टी रोकेका रुसी गोलकिपर इगोर अकिनफेव पेनाल्टी सुटआउटको नायक बने । उनले खेलमा धेरै उत्कृष्ट बचाउ गर्दै रुसलाई क्वार्टरफाइनलमा पुर्याउन भूमिका खेले ।
मारियो फर्नान्डेज, रुस
‘राइटब्याक’ मारियो फर्नान्डेजले उत्कृष्ट प्रदर्शन गर्दै स्पेनको ‘लेफ्ट विङ’को चुनौतीलाई धेरै हदसम्म विफल बनाए । उनको उत्कृष्ट खेलसँगै रुस स्पेनसँग १–१ बराबरी खेल्दै पेनाल्टी सुटआउटमा पुग्यो । जसमा रुसले स्पेनलाई हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गर्यो ।
ताकासी इनुई सेन्ट्रल मिडफिल्डर, जापान
जापान अन्तिम १६ बाटै बाहिरिएपनि ताकासी इनुइले धेरै सुन्दर गोल गरेका थिए । जसले बेल्जियमलाई धेरै दबाबमा राखेको थियो ।
खेल अवधिभर उनको मिडफिल्ड ‘मुभमेन्ट पास’ र ‘ड्रिबलिङ’ उत्कृष्ट थियो । तर, जापान प्रिक्वार्टरफाइनलमा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको छ ।
किलियन एमबाप्पे फरवार्ड, फ्रान्स
फ्रान्सका १९ वर्षीय फरवार्ड किलिएन एमबाप्पे अर्जेन्टिनाविरुद्धको प्रिक्वार्टरफाइलन खेलका स्टार हुन् ।
उत्कृष्ट ‘पेस’ र ‘फिनिस’को माध्यमले अर्जेन्टिनालाई नराम्रो हार चखाउँदै बिदा गरेका उनले आफूलाई विश्व फुटबलको उदाउँदो स्टारकारुपमा चिनाए ।
उनले उक्त प्रतियोगितामा दुई गोल गरेका थिए । जुन ब्राजिलका महान् खेलाडी पेलेको बराबरी हो ।
एडिन्सन काभानी फरवार्ड, उरुग्वे
एडिन्सन काभानीको लोभलाग्दो प्रदर्शनकै आधारमा उरुग्वेले पोर्चुगललाई बिदा गर्दै विश्वकपको क्वार्टरफाइनलका लागि आफ्नो स्थान सुरक्षित गर्यो । उनले पोर्चुगलको पोस्टमा दुई गोलमात्रै गरेनन्, लुइस सुआरेजसँग उनको ‘पार्टनसीप’ पनि धेरै नै उत्कृष्ट थियो ।
क्रिस्टियानो रोनाल्डो फरवार्ड, पोर्चुगल
२०१६ को युरोकपको विजेता टोलीको कप्तान क्रिस्टियानो रोनाल्डोले जारी प्रतियोगितामा ४ गोल गरे ।
पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गरेका उनले दोस्रो खेलमा मोरक्कोविरुद्ध गोल गरेर ‘गोल्डेन बुट’को बलियो दाबेदारी प्रस्तुत् गरेपनि उनको टोली प्रिक्वार्टरफाइनबाटै बाहिरएपछि उनी गोल्डेन बुटको होडबाट बाहिरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्