
काठमाडौं, जेठ २ । स्थानीय तह निर्वाचनअन्तर्गत पहिलो चरणमा आइतबार भएको निर्वाचनको मतगणना अति सुस्त भएको छ ।
मतदान गरेकाहरुले परिणाम चाँडो सार्वजनिक होस् भन्ने प्रतिक्षा गरे पनि मतगणना भने सुस्त देखिएको हो ।
मतगणना सुस्त हुनुलाई निर्वाचन आयोगले मतपत्रको जटिलता र धेरै उम्मेदवार रहनुलाई कारण देखाएको छ ।
काठमाडौं महानगरलाई नै उदाहरणका रूपमा लिने हो भने यहाँको मतपत्रमा ३ सय ७४ फरक चिह्न छन् ।
मतदातालाई चाहेको ठाउँमा मत हाल्न चिह्न भेट्न जति गाह्रो परेको थियो, गणनामा त्यही अवस्था दोहोरिएको छ ।
एउटै मतपत्रबाट प्रमुख र उपप्रमुखसहित ७ स्थानको मत निक्र्याेल गर्न समय लागिरहेको छ ।
मतगणनास्थलमा रहेका सबै दल र उम्मेदवारका प्रतिनिधिमध्ये कसैले राम्ररी नदेखे मतदान अधिकृतहरूले नजिक लगेर राम्ररी देखाउनुपर्छ ।
त्यसले पनि गणनामा ढिलाइ भइरहेको छ । एउटै मत गन्न पनि ३ मिनेटसम्म लाग्ने गरेको देखिएको छ ।
अधिकांश नगरपालिका र गाउँपालिकाले सबै वडाको मतपेटिका एकै ठाउँमा भेला पारेर एक–एक वडाको गर्दै गणना गरिरहेका छन् ।
ढिलाइ हुनुको प्रमुख कारण यही हो । सामाजिक सञ्जालहरूमा यसको तीव्र आलोचना भइरहेको छ । अधिकांश सर्वसाधारणले जनशक्तिको अभाव वा अन्य के कारण हुन सक्छ भन्दै प्रश्न गरिरहेका छन् ।
आयोगले जनशक्ति अभावलाई पनि अस्वीकार गरेको छ । राजनीतिक दलहरूले पनि ढिलाइप्रति गुनासो गरिरहेका छन् ।
विज्ञहरूले एउटै निकायको मतगणना फरक–फरक ठाउँमा गर्न सकिने सुझाव दिएका छन् । अधिकांश ठाउँमा एउटै स्थानमा मात्र मतगणना भइरहेको छ ।
विकल्पबारे आयोगले गहनतापूर्वक सोचिसकेको पनि छैन । प्रमुख, उपप्रमुखदेखि वडा सदस्यसम्मको मत एउटै मतपत्रमा भएकाले यसभन्दा तीव्र रूपमा गन्न भने सम्भव नभएका दलका प्रतिनिधिहरूको भनाइ छ ।
निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले मतपत्रको जटिलता र धेरै उम्मेदवारका कारण गणनामा केही ढिलाइ भएको स्वीकार गरेका छन् ।
उनले मतगणनामा तिव्रता ल्याउने लक्ष्यका साथ आयोगले काम सुरु गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्