४ आश्विन २०८०, बिहिबार | Thu Sep 21 2023


इङ्गल्याण्ड क्वाटरफाईनलमा प्रवेश, ह्यारी केन बने सर्वाधिक गोलकर्ता


0
Shares

काठमाडौं, असार २० । कोलम्बियालाई पेनाल्टी सुट आउटमा हराउँदै इङ्गल्याण्ड विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

गएराती रुसको मस्कोस्थित स्पार्टाक एरिनामा भएको खेलको निर्धारित ९० मिनेटमा दुबै टोलीबाट १-१ गोल भएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफको ५७ औं मिनेटमा इंग्लण्डले अग्रता लियो ।

५७ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा बदल्दै ह्यारी केनले इङ्गलिस टोलीलाई अग्रता दिलाएका हुन् । केनको यो गोल रुसमा जारी विश्वकपमा छैटौं गोल हो ।

उनी सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा शिर्ष स्थानमा रहेका छन् ।

१-० ले पछि परेको कोलम्बियाले ईन्जुरी समयमा खेल बराबरी गर्‍यो । हुँवा क्वाड्राडोको पासमा यरी मिनाले गोल गर्दै टोलीलाई खेलमा फर्काएका हुन् ।

मिनाको यो गोल जारी विश्वकपमा तेस्रो हो । निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुग्यो ।

अतिरिक्त समयमा दुबै टोलीबाट गोल हुन नसकेपछि खेल टाई ब्रेकरमा पुगेको हो ।

टाई ब्रेकरमा कोलम्बियालाई ४-३ ले हराउँदै इङ्गल्याण्ड विजयी भयो ।

इङ्गल्याण्डका ह्यारी केन, मार्कस रास्फोर्ड, किरन ट्रिपर र एरिक डायरले गोल गर्दा जोर्डन हेन्डर्सनको प्रहार विफल भयो ।

यसैगरी कोलम्बियाको लागि राडामल फाल्काओ, हुँवा क्वाड्राडो र लुईस मुरिएलले गोल गर्दा म्याटियास उराईब र कार्लोस बाक्काको प्रहार बिफल भयो ।

जितसँगै इंग्लण्डले युरोपेली प्रतिद्धन्दी स्विडेनविरुद्धको क्वाटरफाईनल भिडन्त तय गरेको छ ।

उता पराजित टोली कोलम्बिया भने राउण्ड अफ सिक्सटिनबाटै घर फर्किने तेस्रो लेटिन अमेरिकी टोली बनेको छ ।

यसअघि अन्य दुई लेटिन अमेरिकी टोली अर्जेन्टिना र मेक्सिको पनि यही चरणबाट बाहिरिएका थिए ।