एक पदमा दाजुभाइ भिड्दै, चुनाव प्रचार नै रोचक बन्यो « Image Khabar


एक पदमा दाजुभाइ भिड्दै, चुनाव प्रचार नै रोचक बन्यो


Imagekhabar
२९ जेष्ठ २०७४, सोमबार १४:५०

नेकपा (माओवादी केन्द्र)ले बलबहादुर ऐरलाई र नेपाली काँग्रेसले उनका दाइ राजबहादुर ऐरलाई वडाध्यक्ष पदको उम्मेदवार तोकेको हो ।

एकै घरपरिवारका दाजुभाइले दुई फरक राजनीतिक दलबाट वडाध्यक्षमा टिकट पाएपछि परिवार, आफन्त, इष्टमित्रहरु कसलाई मत दिने भन्नेबारे अन्योलमा छन् ।

काँग्रेसबाट टिकट पाएका राजबहादुरले भने – “यस्तो अवस्थामा घरमा रहेका मत नबाँडिइकन जता गएपनि एकलौटी जान्छ ।”

“दाइ वा भाइमध्ये एकजनाले उम्मेदवारी छोड्नुपर्छ भन्ने छलफल घरपरिवारमा चलिरहेको र आफू जेठो भएकाले भाइले छोड्नु उचित हुने सल्लाह सबैले दिएको दाजु राजबहादुरले बताए ।

एउटै आमाका सन्तान भए पनि फरक विचार र सिद्धान्त भएकाले फरक सपना र योजना बनाएर चुनावी दौडमा उत्रिएको उनीहरुको भनाइ छ ।

बलबहादुरले झन्डै ४५ दिनअघि नै नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षको टिकट सुनिश्चित गरी आफ्नो चुनावी दौडमा होमिएका हुन् ।

“दाइले टिकट पाएमा आफूले नउठ्ने मनःस्थिति पहिल्यै बनाएको थिएँ, बलबहादुरले भने– दाइले डेढ साताअघिमात्र टिकट पाए पनि अब आफूले छोड्न सक्ने सम्भावना छैन, धेरै अगाडि बढिसकेँ ।”

चुनावको मिति नजिकिँदै जाँदा उम्मेदवारहरुले मत माग्न घरदैलो अभियानलाई तीव्रता दिएका छन् । गर्मी बढ्दै गएसँगै चुनावी सरगर्मी पनि ह्वात्तै बढेको छ ।

चुनावी सरगर्मीका बीच यतिबेला टोल र बस्तीका निजी घरमा विभिन्न दलका झन्डा टाँग्ने प्रतिस्पर्धा पनि बढेको छ ।

खासगरी ग्रामीण क्षेत्रका घर घरमा पार्टीका झन्डा र चुनाव चिह्न अङ्कित ब्यानर झुड्याउने रोचक प्रतिस्पर्धा देखिएको छ ।

“एउटा पर्टीको मान्छे आएर घरमा झन्डा टुङ्ग्याउँछ, स्थानीय श्यामराज चौधरीले भने– लगत्तै घरमा पुग्ने अर्को पार्टीको मान्छेले आफ्नो पार्टीको झन्डा टाँगीहाल्छ ।”

जोसुकैले घरमा झन्डा टाँगे पनि विरोध कसैको नगर्ने सहमति घरपरिवारका सदस्यमा बनेको छ ।

कैलाली जिल्लामा एक उपमहानगर (धनगढी), छ नगरपालिका र छ गाउँपालिकासमेत १३ स्थानीय तहमा हुने निर्वाचनमा मुख्य प्रतिस्पर्धा काँग्रेस, एमाले, माओवादी केन्द्र, नेपाल फोरम लोकतान्त्रिक र राप्रपाका बीच हुन लागेको मतदाताको विश्लेषण छ ।

गएको संविधानसभाको निर्वाचनमा कैलाली क्षेत्र नं १ र ३ बाट तत्कालीन फोरम लोकतान्त्रिकका उम्मेदवार, क्षेत्र नं २ बाट एमालेका उम्मेदवार, क्षेत्र नं ४ बाट माओवादी केन्द्रका उम्मेदवार र क्षेत्र नं ५ र ६ बाट काँग्रेसका उम्मेवार विजयी भएका थिए ।

स्थानीय तहको चुनावमा होमिएका सबै उम्मेदवार आ–आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै मतदातालाई आकर्षित गर्न आकर्षक नारा र योजना सुनाउन थालेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्