
योसँगै निर्वाचन हुन बाँकी प्रदेश नम्बर–१, ५ र ७ को निर्वाचन भने असार १४ मै हुने सुनिश्चित देखिएको छ ।
अन्ततः सरकार राजपाको माग सम्बोधन गर्न भन्दै स्थानीय तहको निर्वाचन अझै दुई चरणमा गर्न सहमत बनेको हो ।
बिहीबार सिंहदरबारमा बसेको सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाका नेताहरुको बैठकले निर्वाचन सार्ने विषयमा सैद्धान्तिक सहमति गरेको हो ।
केही दिनदेखि राजपालाई निर्वाचनमा सहभागी गराउने विषयमा गृहकार्य हुँदै आएपनि सहमति बन्न सकेको थिएन ।
राजपासहितको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई नै निर्वाचनमा सहभागी गराउने भन्दै वैशाख ३१ का लागि तोकिएको निर्वाचनको मिति प्रदेश नम्बर–१,२, ५ र ७ मा जेठ ३१, असार ९ हुँदै असार १४ मा गर्ने निर्णय भएको थियो ।
राजपाले असार १४ मा हुने निर्वाचनमा पनि सहभागी नबन्ने चेतावनी दिएपछि सरकार २ नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचन गर्ने गरी मिति सार्न तयार बनेको हो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै गृहमन्त्री जनार्दन शर्माले प्रदेश नम्बर–२ मा पछि निर्वाचन गर्ने र अरु प्रदेशमा असार १४ मै निर्वाचन गर्ने गरी दलहरुबीच सैद्धान्तिक सहमति जुटेको बताए ।
प्रदेश नम्बर–२ मा निर्वाचनको मिति पछि सार्नेसँगै दलहरुले शुक्रबार मनोनयन गर्ने भनिएको प्रदेशहरुमा पनि दुई दिन मनोनयन पछि सार्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेका थिए ।
राजपाका नेताहरुले भने आफूहरुको अडान कायम नै रहेको बताइरहेका छन् । आफ्ना मागमा सरकार सकारात्मक बने पनि निर्णयको प्रतिक्षामा रहेको उनीहरुको भनाइ छ ।
राजपा नेता शरत्सिंह भण्डारीले आफूहरु सहमति कार्यान्वयनमा सरकारको व्यवहार निहालिरहेको बताए ।
बैठकमा विपक्षी एमालेलाई बोलाइए पनि उनीहरु भने सहभागी भएनन् । एमालेले असार १४ मा सबै प्रदेशमा एकैपटक निर्वाचन हुनुपर्ने अडान राखिरहेको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्