प्रधानमन्त्री देउवाले दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि मन्त्रिपरिषद विस्तार गर्ने बताएका थिए । तर, निर्वाचन सकिएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचित भएको एक महिनापछि मन्त्रिपरिषद विस्तारको गृहकार्य सुरु गरेका छन् ।
प्रधानमन्त्री देउवाले संविधान संशोधन विधेयक पारित गर्नको लागि मन्त्रिपरिषद विस्तारलाई प्राथमिकतामा राखेका थिएनन् । संशोधनमा दुई तिहाइ समर्थन जुट्न नसकेपछि सत्ताधारी दलहरु मन्त्रिपरिषद विस्तारको गृहकार्यमा लागेका छन् ।
मन्त्रिपरिषदमा बागबन्डा मिलाउन सत्तासाझेदार दुई दल कांग्रेस र माओवादी केन्द्रका नेता सम्मलित कार्यदल पनि गठन गरिएको छ ।
सो कार्यदलमा कांग्रेस १२ र माओवादी केन्द्रले ८ ओटा मन्त्रालय लिने गरी सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ । तर, माओवादी केन्द्रले ९ ओटा मन्त्रालय दाबी गरेको बुझिएको छ ।
अन्य कुन–कुन दललाई सरकारलाई सहभागी गराउने भन्ने टुंगो लागेपछि मन्त्रालय टुंग्याउने सत्तारुढ दलका नेताहरुको दाबी छ । त्यसो त प्रधानमन्त्री देउवालाई सरकार विस्तारमा पार्टीभित्रैबाट अप्ठ्यारो परेको छ ।
कांग्रेसबाट डेढदर्जन बढीले मन्त्री बन्ने आकांक्षा राखेका छन् भने रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षलाई पनि चित्त बुझाइदिनुपर्ने बाध्यता छँदैछ । यसले पनि मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको सम्बद्ध स्रोतको भनाइ छ ।
माओवादीले भने मन्त्रिपरिषदमा जाने आफ्ना नेताहरुको नाम करिब–करिब टुंग्याइसकेको छ ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले प्रधानमन्त्रीले नाम माग्नेबित्तिकै आफ्नो पार्टीका तर्फबाट मन्त्री बन्नेहरुको नाम दिने बताएकी छन् ।









प्रतिक्रिया दिनुहोस्